विशेष अनलाइन । केही समयअघि प्रदर्शनमा आएको नेपाली चलचित्र “तेल भिषा” का निर्माता मध्ये एक सिवराज कार्कीमाथि विदेश पठाइदिने प्रलोभनमा लाखौं रुपैयाँ असुलेर ठगी गरेको गम्भीर आरोप लागेको छ।
मञ्जु धमलाले सिवराज कार्कीमाथि आफूलाई विदेश पठाउने आश्वासन दिँदै २ लाख ५० हजार रुपैयाँ लिएर न विदेश पठाएको न त रकम फिर्ता गरेको गुनासो सार्वजनिक गरेकी छिन्। “तेल भिषा” को टिसर्ट लगाएको कार्कीको तस्बिरसहित फेसबुक पोस्ट गर्दै मञ्जुले लेखेकी छन् , “मेरो २ लाख ५० हजार पैसा फिर्ता दिनुस् दाइ। मेनपावर चलाएको छु, विदेश पठाउँछु भनेर दुनियाँको पैसा ठग्ने काम नगर्नुस्। कसैले पनि यो दाईलाई विश्वास नगर्नु होला। इज्जत, लाज-सरम भन्ने कुरा यो दाईलाई रहेनछ।”
उनले उक्त पोस्टमा कार्कीलाई राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङमार्फत एक लाख रुपैयाँ ट्रान्सफर गरेको ‘स्क्रिनसट’ समेत सेयर गरेकी छन्, जसले आरोपलाई थप प्रमाणित गर्ने देखिन्छ। उक्त पोस्टमा धेरै अन्य व्यक्तिहरूले पनि कमेन्ट गर्दै कार्कीले आफूहरूबाट समेत रकम लिएर विदेश नपठाएको र अहिले सम्पर्कविहीन भएको बताएका छन्।

सिवराज कार्की काठमाडौंको चाबहिलमा रहेको ‘P & M Innovative Services’ (Visa Counselling Centre) का सञ्चालक पनि हुन्। यो कम्पनीले इटाली, सर्बिया, अजरबैजान, क्रोएसिया, जापान लगायतका देशहरूमा विद्यार्थी तथा कामदार पठाउने सेवा दिने बताइएको छ। उनी चलचित्र निर्माता संघका पनि साधारण सदस्य हुन्।
हालसम्म कार्कीले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्। पीडितले चाहेमा कानुनी प्रक्रिया अगाडि बढाउन सक्ने भए पनि हालसम्म यसबारे औपचारिक उजुरी परेको पुष्टि भएको छैन।
यसअघि “तेल भिषा” चलचित्रका निर्देशक शंकर घिमिरे र प्रस्तुतकर्ता ऋचा घिमिरेमाथि अमेरिका लैजाने नाममा ठगीको आरोपमा प्रहरीमा उजुरी परेको थियो। त्यस्तै, “रावायण” चलचित्रका कार्यकारी निर्माता सुसन पाठकले पनि पाँच जना विद्यार्थीबाट झण्डै ५० लाख रुपैयाँ असुलेर विदेश पठाउने भन्दै ठगेको आरोप लागेको थियो।
नेपालमा पछिल्लो समय चलचित्र निर्माता तथा चलचित्र क्षेत्रसँग जोडिएका व्यक्तिमाथि बारम्बार यस्ता ठगीका आरोपहरू लाग्दै आएका छन्। जसले नेपाली चलचित्र क्षेत्रको छविमा समेत नकारात्मक प्रभाव पारेको छ।









Discussion about this post