विशेष अनलाइन । भिम लामाको लेखन तथा निर्देशनमा बनेको सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्र “लडाईं पहिचानको” आउँदो मंसिर ५ गते, २०८२ (नोभेम्बर २१, २०२५) देखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले हालै चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टर हेर्दा चलचित्रले नेपाली समाजभित्र विद्यमान जातीय पहिचान, भेदभाव, सामाजिक संघर्ष र अधिकारको खोजी जस्ता विषयवस्तु गहिरो रूपमा उठाउने अनुमान गर्न सकिन्छ। पोस्टरमार्फत चलचित्रमा आन्दोलन, प्रतिरोध र राज्य संयन्त्रसँगको टकराव समेत झल्किएको छ। साथै, आदिवासी जनजाति समुदायको सांस्कृतिक झलक समेत चलचित्रमा समेटिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा चर्चित कलाकारहरु प्रसान्त तामाङ, धिरेन शाक्य, करिष्मा मानन्धर, राजेन्द्र खड्गी, सुरबिर पण्डित, जेनी घिसिङ, प्रेम सुब्बा, पर्शुराम चौधरी, रामजी बिष्ट, अरुण कुमार प्रधान, सुबास तामाङ, रोसन शर्मा, शर्मिला राई, किशोर सम्बाहाम्फे, दिनेश कोइराला, छिरिङ शेर्पा, डम्बर कुमारी लिम्बू, पबि तेम्बे, सुदिप लिम्बू, अम्बिका ढकाल, कविता राई लगायतका कलाकारहरूको अभिनय रहनेछ।
चलचित्रका निर्माता भिम लामा, रामजी बिष्ट, दिलु सुब्बा र उमेश तामाङ हुन्। गीतमा बुद्धवीर लामा, इरान राई, राजहाङ आङ्बो, भिम बस्नेत, सागर तामाङ लगायतका सिर्जनाकारहरूको शब्द समेटिएको छ। नृत्य निर्देशन मनि कुमार लिम्बू र सानुराजा लिम्बू ले गरेका छन् भने सम्पादन रमेश बिशुङ्खे ले गरेका छन्।
थलिवुड मोशन पिक्चर्स को पोस्ट–प्रोडक्सनमा तयार भएको यस चलचित्रलाई कुबेर सिने प्रा.लि. ले वितरण गर्नेछ।
नेपाली सिने बजारमा सांस्कृतिक चेतना र सामाजिक सन्देश बोकेका चलचित्रहरूको माग बढ्दै गएको अवस्थामा “लडाईं पहिचानको” ले दर्शकमाझ विशेष प्रभाव पार्ने विश्वास गरिएको छ।










Discussion about this post