विशेष अनलाइन । गुरुप्रसाद मैनालीको कालजयी कथा ‘परालको आगो’ मा आधारित चलचित्र निर्माणको तयारी तीव्र गतिमा भइरहेको छ । चलचित्रको शीर्ष भूमिकामा अब सौगात मल्ल अनुबन्धित भएका छन्। उनी कथामा उल्लेखित “जुठे दमाई”को भूमिकामा देखिनेछन्।
यसअघि सो भूमिका अभिनेता जितु नेपालले निर्वाह गर्ने तयारी गरेका थिए। तर, दशैंको व्यस्तताका कारण छायांकनमा समय दिन नसक्ने भएपछि उनले फिल्मबाट अलग भएका छन्।
सौगात मल्लको आगमनसँगै चलचित्रको मुख्य कलाकारहरूको सूची पूरा भएको छ। सुशील पोखरेलको लगानीमा निर्माण हुने यो चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठले अभिनय गर्नेछन्।
चलचित्रको निर्देशन लक्ष्मण सुनारले गर्ने छन्। गीत लेखनमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको योगदान रहनेछ। संगीत संयोजन शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले मिलेर गर्नेछन्।
भदौ २६ गतेदेखि म्याग्दीमा छायांकन सुरु हुने तयारी गरिएको छ। छायांकनको जिम्मा संकल्प भुजेलले लिएका छन् भने नृत्य निर्देशन रामजी लामिछानेले गर्नेछन्। चलचित्रको कथा सुशील देवकोटाले लेखेका हुन् भने सुलक्षण भारतीले स्क्रिप्ट डक्टरिङ गरेका छन्। प्रोडक्सन म्यानेजरको रूपमा नगेन्द्र घिमिरे रहनेछन्।









Discussion about this post