विशेष अनलाइन । नेपाली पप संगीतका लोकप्रिय गायक अनिल सिंह र म्युजिक डट कमबीच लामो समयदेखि चलिरहेको गीतसम्बन्धी विवाद अन्ततः आपसी समझदारीमा टुंगिएको छ। गायक सिंहले मंगलबार सामाजिक सञ्जालमार्फत आधिकारिक विज्ञप्ति जारी गर्दै विवाद सम्मानपूर्वक समाधान भएको जानकारी गराएका हुन्।
सिंहले वक्तव्यमा यस सहमतिलाई केवल द्वन्द्वको अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिएको उल्लेख गरेका छन्। “अब भावना, आपसी सम्मान र संगीतप्रतिको समर्पणको जित भएको छ,” सिंहले भने। उनले सहकार्यको भावना प्रकट गरेकोमा म्युजिक डट कमप्रति आभार व्यक्त गर्दै म्युजिक नेपाललाई निष्पक्ष वितरणकर्ताका रूपमा धन्यवाद दिएका छन्।
विवाद चर्कँदा गायक सिंहले केही भावुक अभिव्यक्ति दिएका थिए, जसमा आत्महत्यासम्बन्धी टिप्पणीसमेत थिए। ती विषयमा स्पष्ट पार्दै उनले ती अभिव्यक्तिहरू मानसिक तनावको क्षणिक प्रतिक्रिया भएको स्वीकार गर्दै दर्शक, स्रोता र शुभचिन्तकमाझ क्षमायाचना गरेका छन्।
विवाद समाधान भएसँगै उनले ती अभिव्यक्तिसहितका सबै सामग्री हटाउने निर्णय गरेका छन्। उनले संगीतलाई केवल पेशा नभई आत्मासँग जोडिएको माध्यम भएको पुनः दोहोर्याउँदै नयाँ उत्साहका साथ सिर्जनात्मक यात्रामा फर्किने संकेत पनि दिएका छन्।









Discussion about this post