विशेष अनलाइन । नेपाली फिल्महरूमा पछिल्लो समय तीजका गीत र प्रसंगहरू विरलै पाइन्छन्। तर, केही समयअगाडि सार्वजनिक भएको फिल्म ‘द सिक्रेट अफ राधा’ को ‘पाउमा पाउजु’ जस्तै, अहिले अर्को एक तीज गीतले दर्शकको मन जित्न थालेको छ।
यसपटक फिल्म ‘कोशेढुङ्गा’ को तीज गीत ‘नत्र भने जिन्दगी’ चर्चाको शिखरमा छ। सार्वजनिक भएको आठ दिनमै यो गीतले सामाजिक सञ्जालमा ठूलै हलचल मच्चाएको छ। युट्युबमा १४ लाखभन्दा बढी भ्यूज पार गरेको गीतले फेसबुकमा झण्डै ७० लाख दर्शक पाइसकेको छ। यति मात्र होइन, टिकटकमा २० हजारभन्दा धेरै भिडियोलाई यो गीतको लयमा सजाइएको छ, जसमा अधिकांस महिला सर्जक देखिन्छन्। केही भिडियोहरू त लाखौँ पटक हेरिएका छन्।
यो डिजिटल सफलताको रहस्यमा एउटा रमाइलो पहल पनि जोडिएको छ — निर्माण टिमले ‘नत्र भने जिन्दगी व्यर्थ छ’ भन्ने ह्यास्ट्यागसहित टिकटक प्रतियोगिता आयोजना गरेको छ। आगामी भदौ ४ गतेसम्म चल्ने प्रतियोगितामा उत्कृष्ट भिडियोलाई पुरस्कार दिने घोषणा गरिएको छ, जसले गीतमा अझ बढी आकर्षण थपेको छ।
गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको हुकलाइन तथा संगीत छ। स्वर खेम सेन्चुरी, समीक्षा अधिकारी र दीपिका बयम्बु मगरले दिएका छन्। गीतको भावमा विवाहित र अविवाहित महिलाबीचको अनुभव, सामाजिक अपेक्षा र तीजको उल्लासपूर्ण परिवेशलाई कलात्मक ढंगले पस्किएको छ।
फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउँदैछ। निर्देशक सरोज पौडेलले यो फिल्म निर्देशन गरेका छन्। जो ‘पूर्ण बहादुरको सारंगी’ फिल्ममार्फत चर्चामा आएका थिए। फिल्ममा ऋचा शर्मा, सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह, सरोज खनाल, प्रवीण खतिवडा लगायतका कलाकारहरूको दमदार उपस्थिति रहेको छ। यो फिल्म नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ रिलिज हुने तयारीमा छ।









Discussion about this post