विशेष अनलाइन । सधै शुक्रवार चलचित्र रिलिज हुने भएपनी बुद्ध जयन्तीको अवसर पारेर दुई ओटा अपेक्षित चलचित्र बिहिवारबाटनै प्रदर्शनमा आएका छन् । सुयोग गुरुङ निर्देशित चलचित्र ‘फर्की फर्की’ र सुनिल राउत निर्देशित चलचित्र ‘पुजार सार्की’लाई अपेक्षित चलचित्रका रूपमा हेरिएको छ ।
सुवास भुसालको निर्माण रहेको चलचित्र ‘पुजार सार्की’मा सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका छन् । नेपाली दर्शकले सर्वाधिक रुचाएका ३ स्टार अभिनेता भएका करण पनि चलचित्र ‘पुजार सार्की’लाई विशेष मानिएको छ ।
चलचित्रमा अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ। ट्रेलर सार्वजनिक भएसँगै चलचित्रले उठान गरेको कथा तथा अभिनेता प्रदीप खड्काको अभिनयको चर्चा भइरहेको छ ।
‘टाइम लुक’को कथा प्रस्तुत गरिएको चलचित्र ‘फर्की फर्की’ले प्रीमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । अभिनेता अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा रहेको चलचित्रको कथालाई लिएर निकै चर्चा भइरहेको छ ।
विशेष अनलाइनसँग कुरा गर्दै निर्माता रोहित अधिकारीले चलचित्रमा अभिनेता अनमोल केसीले अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेको बताएका छन् । रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘फर्की फर्की’मा अनमोल र जसितासँगै निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।
चलचित्र ‘पुजार सार्की’मा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।
Discussion about this post