विशेष अनलाइन । गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘मनसरा’ले उत्साहजनक व्यापार गरिरहेको छ । मल्टिप्लेक्स सिनेमा घरहरूमा चलचित्रले उत्साहजनक व्यापार गरिरहेका बेला सिङ्गल थिएटरहरूलाई भने चलचित्र प्रदर्शनका लागि रोक लगाइएको गुनासो आएको छ । सिङ्गल थिएटरहरूले शो लुकाउने गरेको आरोप लगाउँदै उक्त हलहरूमा चलचित्र प्रदर्शन गर्न नदिइएको बताइएको छ । म्याजिक सिनेमा झुम्काका सञ्चालक पर्शुराम चौधरीले आफ्नो हलमा चलचित्र ‘मनसरा’ नलागेको बताए ।
विशेष अनलाइनसँग कुरा गर्दै हल सञ्चालक चौधरीले वितरकको दादागिरीका कारण सिङ्गल थिएटरहरूमा चलचित्र प्रदर्शनमा रोक लगाइएको बताए । चौधरीका अनुसार केही सिङ्गल थिएटरहरूमा चलचित्र प्रदर्शनका लागी अनुमति भए पनि पहुँच र सम्बन्धका आधारमा मात्र दिइएको छ ।
यता चिरञ्जीवी बस्नेतले पनि चलचित्र वितरक र क्युएफएक्सको मनोमानीका कारण सिङ्गल थिएटरहरूलाई पन्छाउने काम भएको बताए । चलचित्र प्रदर्शनमा समेत राजनीतिकरण हुने गरेको उल्लेख गर्दै बस्नेतले सरकारबाट अनुमति प्राप्त भए पनि ठुला भनिएका चलचित्रका सङ्गठनहरूको दादागिरीका कारण सिङ्गल थिएटरहरूलाई सौतेनी व्यवहार गर्ने गरिएको बताए ।
यता नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले आफुले सिङ्गल थिएटरहरूमा चलचित्र प्रदर्शनमा रोक लगाएको कुरा बिहीबार बेलुका मात्र थाहा पाएको बताए । ‘मैले यो कुरा बिहीबार बेलुका मात्र थाहा पाएँ । शुक्रवार चलचित्र निर्माण टिम पूर्व गइसकेको थियो । त्यसैले औपचारिक रुपमा कुरा गर्न पाएको छैन’, महर्जनले भने । महर्जनले सिङ्गल थिएटरहरूलाई चलचित्र प्रदर्शनमा रोक लगाउनु सत प्रतिशत गलत भए पनि यसमा हल सञ्चालकहरूको पनि कमजोरी रहेको बताए । ‘आफ्नो हलमा चलचित्र आइहाल्छ भनेर हल सञ्चालकहरू ढुक्कले बस्ने गरेका छन् । कम्तीमा २–३ दिन अघि चलचित्र वितरकसँग कुरा गरेर चलचित्र आउने नआउने लगायतका तयारीमा हल सञ्चालक लाग्ने हो भने पहिले नै यस्ता समस्याको पहिचान हुन्छ र तत्काल समाधानको बाटो खोज्न सकिन्छ’ महर्जनले भने ।
‘हामी नै चलचित्र हल कम छन् भन्छौँ ,अनि भएका चलचित्र हलहरूलाई पनि यसरी रोक लगाइयो भने चलचित्र क्षेत्रको भविष्य अन्धकार हुन्छ । सम्बन्धित निकायसँग तत्काल कुरा गरेर आउने दिनमा यस्ता कमजोरी हुन दिँदैनौँ ’महर्जनले भने ।
यता एफ डी कम्पनी सञ्चालक समितिका अध्यक्ष छविराज ओझाले चलचित्र निर्माताले नै पहिले ठुला हलहरूमा सञ्चालन गर्ने निर्णय गरेका कारण तत्काल सिङ्गल थिएटरहरूलाई चलचित्र प्रदर्शनमा रोक लगाइएको बताए । सबै सिङ्गल थिएटरहरूमा चलचित्र रोक लगाइएको नभई पूर्वका केही हलहरूमा मात्र तत्काललाई रोक लगाइएको र चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया दिएका आधारमा सबै हलहरूमा चलचित्र प्रदर्शनका लागि अनुमति दिइने निर्णय निर्माताबाट नै आएको ओझाको भनाई छ ।
चलचित्र निर्माताहरूको पनि यो व्यापार हो पूर्वमा त्यसता सिनेमा घरहरू पनि छन् जसले चलचित्रको पोस्टरको रकम समेत उठाउन सक्दैनन् । निर्माताले त्यसता हलहरूलाई के का आधारमा चलचित्र प्रदर्शनका लागि अनुमति दिने ? ओझा ले प्रश्न गरे ।
अध्यक्ष ओझाले आफूहरूको नभई चलचित्र निर्माताकै निर्णयका आधारमा सिङ्गल थिएटरहरूलाई चलचित्र प्रदर्शनमा तत्काललाई रोक लगाइएको र केही दिन पछि पुन चलचित्र प्रदर्शनको अनुमति दिइने निर्णय गरेको बताए ।
यता चलचित्र ‘मनसरा’का निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले भने यो विषयमा आफू अनविज्ञ भएको जवाफ दिए । ‘मलाई यो विषयमा त्यति थाहा भएन म निर्माता र वितरकसँग बुझ्छु ।’ सुब्बाले भने । यता चलचित्रका कार्यकारी निर्माता सिजन दाहालले चलचित्र प्रदर्शनको अधिकार पूर्ण रुपमा वितरकको भएको बताउँदै सिङ्गल थिएटरहरूमा रोक लगाइनु वितरकको निर्णय भएको बताए । दाहालका अनुसार आजबाट भने सम्पूर्ण हलहरूमा चलचित्र प्रदर्शन गरिँदै छ । ‘सुरुमा हाम्रो पनि केही कमजोरी भयो, के के अधिकार कसलाई कसरी दिने भन्ने विषयमा हामी चुकेका हौँ सोही कारणले यो समस्या आएको हो ।’
समग्रमा हेर्दा निर्माताले वितरकलाई र वितरकले निर्मातालाई दोषारोपण गरेको नाटक मञ्चन गर्दै एक अर्काको योजनाबाट नै सिङ्गल थिएटरहरूलाई पन्छाउन खोजेको देखिन्छ । त्यसै पनि कोरोना सङ्क्रमण पछि धेरै हलहरू पूर्ण रुपमा बन्द भइसकेका छन् । यसरी भएका चलचित्र हलहरूमा समेत राजनीतिकरण हुनु राम्रो कुरा हैन ।
Discussion about this post