मनोज दाहाल । इटहरी उपमहानगरपालिका वडा ४ मा रहेको मेट्रिक्समा आगामी फागुन २९ देखि कोशी प्रदेश स्तरीय कला प्रदर्शनी हुने भएको छ । तीन दिन सम्म चल्ने कला प्रदर्शनीलाई ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ नाम दिइएको छ ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रदर्शनीको संयोजकमा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख तथा कोशी प्रदेश समन्वय समिति संयोजक प्राज्ञ सञ्जय बान्तवा राईलाई तोकिएको छ भने इटहरी मेट्रिक्सका अध्यक्ष तथा वरिष्ठ कलाकार विक्रम श्रीलाई उपसंयोजक तोकिएको छ । कलाकार गणेश लामा आँसुलाई सचिव तोकिएको छ ।
कला प्रदर्शनीलाई भव्य बनाउने उद्देश्यले मेट्रिक्स परिसरमा सम्पन्न कलाकारहरूको भेलाले कार्यक्रमको संयोजकमा प्राज्ञ राई र उपसंयोजक कलाकार विक्रम श्री सहित ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको हो ।
मूल समितिअन्तर्गत विभिन्न उपसमितिहरू पनि गठन गरिएको बताइएको छ । कार्यक्रम संयोजक प्राज्ञ राईका अनुसार गोपाल देवानको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, उर्मिला कोइरालाको संयोजकत्वमा आर्थिक उपसमिति, अशेष तिम्सिनाको संयोजकत्वमा कलाकृति सङ्कलन उपसमिति, छितेन शेर्पाको संयोजकत्वमा कला डिस्प्ले उपसमिति र आरती श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदर्शनीका संयोजक राईले प्रतिष्ठानको प्रदेश संरचना नभएको उल्लेख गर्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहयोगबाट नै कार्यक्रमलाई भव्य र सव्य बनाउन सकिने उल्लेख गरे । कोशी प्रदेश आफैँमा कलाले भरिएको प्रदेश रहेको बताउँदै संयोजक राईले कार्यक्रमको बोहनी उत्कृष्ट बन्नेमा ढुक्क रहेको उल्लेख गरे ।
कार्यक्रमका उपसंयोजक विक्रम श्रीले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ लाई महोत्सवको रूपमा सम्पन्न गर्न लागेको बताउँदै यस प्रदर्शनी मार्फत कोशी प्रदेशबाट अरू प्रदेशलाई समेत राम्रो सन्देश दिन सकेमा प्रदर्शनी उपलब्धिपूर्ण हुने धारणा व्यक्त गरे । विक्रम श्रीका अनुसार प्रदर्शनीकै लागि हाल आफ्नै लगानीमा प्रदर्शनी स्थलको पुनर्निर्माण र सजिसजाउ कार्य भइरहेको छ ।
Discussion about this post