इटहरी / वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना मुक्त भएर अस्पतालबाट डिस्जार्च भएका छन् । श्रेष्ठ बैशाख ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । केही कमजोर भएको महशुस भएपछि अस्पतालमा भर्ना भएका श्रेष्ठलाई कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना संक्रमण मुक्त भएर घर फर्किए पछी वरिष्ठ हास्य कलाकार श्रेष्ठले भिडियो सन्देशमार्फत् सबैमा सतर्क रहन अनुरोध गरेका छन् । उनले संसारलाई महासंकट परेको दुःखको घडीमा सबैले सबैलाई माया गर्न र राम्रो सोच्न अनुरोध समेत गरेका छन् ।
, ‘जिन्दगी केही रहेनछ । आफ्नो शरीर फलाम जस्तो लाग्थ्यो । पहाड फोड्दिऊँ जस्तो लाग्थ्यो । हावा रहेछ सबै । त्यसैले यो समयमा कसैले कसैलाई पोल्टिकल इख बोकेर आफ्नो मनलाई फोहोर नबनाऊँ । सबैले सबैको भलाई सोच्यौं भने राम्रो हुन्छ । एकले अर्काप्रति बैमनस्यताको भाव पालेर केही फाइदा छैन । राक्षसपन पलाउनु मात्र हुन्छ शरीरमा ।’ श्रेष्ठले भिडियोमा भनेका छन्
, ‘जिन्दगीमा कहिल्यै नभोगेको गलाइ महशुस गरेँ । पहिलाको कोरोनाले इम्यूनिटी पावर जिरो बनाउथ्यो । तर, इनर्जी पावर चाहिँ केही बाँकी रहन्थ्यो । तर, अहिलेको कोरोना ठिक उल्टो लाग्यो । इम्यूनिटी पावर केही बाँकी रहन्छ तर इनर्जी पावर शुन्य हुन्छ । शरीरमा इनर्जी नै छैन ।’ उनले भनेका छन् ।
उनले अगाडी भनेका छन्, ‘यो समयमा सबैले प्रेमको आँखाले हेर्नुपर्छ । अहिले संसारकै दुर्दशा भइरहेको छ । सबैले मिलेर कोरोनालाई परास्त गर्नुपर्छ ।’
उनले कोरोना जस्तो माहामारीलाई सामान्य सोचेर हेलचेक्राइ नगर्न पनि आग्रह गरेका छन् । आफ्ना छिमेकी जस्तै सबैमा सहयोगी भावना हुनुपर्ने बताउदै उनले परिवारका सबै सदस्य कोरोना संक्रमित भएका कारण आफ्नो परिवारका सबै सदस्यको हेरचाह छिमेकीले गरिरहेको पनि उल्लेख गरेका छन् । केही समय अघि उनकै सहयात्री वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
Discussion about this post