बिशेष अनलाइन । हाँस्यकलाकार किरण केसी “राता मकै”को आज जन्मदिन परेको छ । असार १५ धान दिवसको दिनमा ललितपुरमा जन्मेका किरण केसी अरुले धान दिवस मनाइरहँदा उनीभने जन्म दिन मनाउने गर्छन् ।
उनले हरेक वर्ष आफ्नो जन्मदिन भब्यताका साथ मनाउने गरेका छन् । यस बर्ष भने कोरोनाका कारण जारी लकडाउनले गर्दा उनको जन्मदिन समेत प्रभावित भएको छ ।
बाल्यकाल
हास्य कलाकार केसीले परिवारको १३औँ सन्तानका रुपमा जन्म लिएका थिए । केसी बाल्यकालमा निकै चन्चले स्वभावका थिए । धेरै चकचके स्वभाव भएका कारण उनलाई दाइले किरण कुमार चन्चले भनेर बोलाउने गरेका थिए । उनलाई बाल्यकालदेखि नै हरेक चाडपर्वहरुमा नाचगान गर्न मन पर्थ्यो ।
उनी भजनकिर्तनमा निकै रमाउने गर्थे । देउसी भैलोमा नाच्न र गाउन पनि उत्तिकै रुचाउँने गर्थे । उनलाई अहिलेका केही समकालीन कलाकारहरुले नै मारुनी बनाएर नचाउँने गरेका थिए ।
केसी स्कुलमा भएका हतेक सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन्थे । उनलाई पहिलेदेखि नै पढाइमा भन्दा पनि नाचगानमा बढी रुची थियो । कलामा निकै अगाडि देखिएका केसी पढाइमा भने कमजोर थिए । उनी एसएलसीमा तीन पटकसम्म असफल भएका थिए । त्यसपछि भने उनले अध्ययनको च्याप्टर नै बन्द गरे ।
कलाकारिता यात्रा
केसीको कलाकारिताको यात्रा चार दशकभन्दा धेरै भैसकेको छ । यसबीचमा उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेका धेरैजसो चलचित्रहरु सफल भएका छन् ।
चलचित्रका साथै उनले विभिन्न टेलिसिरियलहरुमा काम गरेका छन् । उनलाई हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’ले ‘राता मकै’को रुपमा चर्चित बनाएको थियो । हाल उक्त टेलिसिरियल हाल बन्द भैसकेको छ । तर, टेलिसिरियल बन्द भए पनि उनलाई नेपाली दर्शकले ‘राता मकै’ नामले नै चिन्ने गरेका छन् ।
मह जोडीको हाँस्यव्यङग्य सिरियल ‘१५ गते’बाट पनि उनले नेपाली दर्शकको मन जित्न सफल भएका थिए । यो सिरियलपछि दर्शकले उनलाई कल्लुको नामले चिन्ने गर्थे । कल्लुपछि उनको अर्को परिचय पनि बन्यो । सिरियल ‘लालपूर्जा’मा उनलाई दर्शकले ढिँडोबाट चल्ने ट्याक्सीका रुपमा पनि चिनेका थिए ।
उनलाई राता मकैको रुपमा दर्शकले यति रुचाएकि सार्वजनिक यातायातका चालक र सहचालकले इमाडोलमा उनको घर भएको चोकलाई राता मकै चोकको रुपमा नामाकरण नै गरेका छन् । दर्शकको यही मायाका कारण पनि किरण हरेक जुनीमा कलाकार बन्न चाहने बताउँछन् । स्टेजमा गएर दर्शक हँसाउन पाउँदा र एउटा कलाकार भएर काम गर्दा हरेक किसिमका दुःखहरु बिर्सने उनको बानी छ ।
किरण केसीलाई धनी कलाकारको रुपमा पनि हेरिन्छ । एकताका उनलाई नेपालका बिल गेट्स भनेर समाचारहरु प्रकाशित भएका थिए । उनी आर्थिक रुपले सम्पन्न छन् । आफू आर्थिकरुपले सम्पन्न भएको कुरा सार्वजनिक रुपमै भन्ने गरेका छन् ।
केसीलाई आर्थिकरुपमा सप्पन्न बन्न सहज भने भएन । उनीसँग केही पर्ख्यौली सम्पत्ति पनि थियो भने त्यहि पर्ख्यौली सम्पत्तीलाई सदुपयोग गर्दै आफू पनि सम्पन्न बन्दै गए ।
कसरी बने सम्पन्न
बाल्यकालदेखि नै कलाकारितामा रुचि भएको भए पनि उनले व्यावसायिक रुपमा कलाकारिता अंगाल्न भने धेरै समय लाग्यो । उनले राष्ट्रिय नाचघरमा करिब चार वर्ष काम गरेका थिए ।
३०३२ सालमा राष्ट्रिय नाचघरमा नियुक्त भएका उनले कलाकारिताबाट केही उपलब्धि हासिल नहुने सोच बनाउदै कलारिता क्षेत्र नै त्याग्ने निर्णय समेत गरेका थिए । अहिलेको जस्तो पहिले–पहिले कलाकारिताबाट पैसा कमाउन सहज थिएन । त्यसमाथि पनि काम पाउनको लागि निर्देशक तथा निर्माताहरुको सेवा गर्नुपर्थ्यो ।
नाचघरको काम छोडेपछि उनले बैंककबाट सामानहरु नेपालमा ल्याएर बेच्ने काम गर्न थाले । यो कामबाट पनि सोचेजस्तो सफलता हात पार्न नसकेपछि उनले आफ्नो दाइसँग मिलेर इँटा भट्टाको व्यवसाय सुरु गरे ।
उनले दाइसँगको २२ वर्ष लामो सहकार्यले भने उनलाई सफल बनाउदै लग्यो । तर जतिसुकै पैसा कमाए पनि उनी कलाकारितालाई भने छोड्न नसक्ने नै थिए । यही कारण उनले आफ्नो व्यवसायहरुसँगै कलाकारितालाई पनि अगाडि बढाउँने सोच बनाउदै चलचित्र निर्माण गरे । उनले निर्माण गरेको चलचित्र ‘तँ त साह्रै नै बिग्रिस नि बद्री’ सर्वाधिक सफल बन्यो ।
उनले यसका अलावा जग्गा प्लटिङको काम पनि गरे यो पनि उनको एउटा व्यवसाय नै थियो । अहिलेको व्यवसायको कुरा गर्ने हो भने विभिन्न ठाउँमा उनका पार्टी प्यालेसहरु सञ्चालनमा छन् । केही समय अघि उनले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’ व्यावसायिक रुपमा सफल बन्यो ।
धनसँगै मनका धनी
केसी आर्थिकरुपले त सम्पन्न छन् नै मनका पनि उत्तिकै धनी छन् । उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनले आफ्नै गाउँ इमाडोलमा चन्दा उठाएर झण्डै २६ लाखको हाराहारीमा रकम खर्चेर ‘इमाडोल प्रहरी चौकी’समेत निर्माण गरेका थिए ।‘सात दोबाटो प्रहरी चौकी’ पनि उनकै अध्यक्षतामा २८ करोडमा निर्माण गरिएको थियो । उनले आमाबुवाको नाममा इमाडोलमै दुई कोठे विद्यालय भवन समेत निर्माण गरेका छन् ।
आमाबुवाकै नाममा इमाडोलमा एक पार्टी, इनार र ८ वटा स–साना मन्दिर पनि बनाएका छन् । विभिन्न भवनसँगै पक्की बाटो निर्माणमा पनि किरणले ठूलो भूमिका छ । उनले गरेको सामाजिक कामकै कारण उनको नाममा नेपाल सरकाले इमाडोलमा ‘राता मकै मार्ग’ नामाकरण गरिएको छ । उनले आफ्नो घर जाने बाटोमा रातामकै गेट समेत निर्माण गरेका छन् ।
Discussion about this post