बिशेष अनलाइन । पछिल्लो समय निकै चर्चा र आलोचना भइरहने क्षेत्र हो राजनिति । देश र जनता संकटमा रहेका बेला राजनितिमा भएका घटनाक्रमहरुले नेपाली जनतालाई थप बिचलित बनाइरहेको छ । देश र जनताको हितमा रहेर काम गर्नका लागि आफैले चुनेर सत्तामा पठाइएका नेताहरुप्रति जनताको विस्वास दिन प्रतिदिन घट्दै गइरहेको छ ।
धेरैले नेपाली राजनितिलाई हालको अवस्थामा ल्याउने व्यक्तिका रुपमा हाल काम चलाउका रुपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिने गरेका छन् । यस बिसम् परिस्थितिमा अन्य राजनितिज्ञहरुले पनि सकारात्मक भुमिका निर्वाह गर्न नसकेको चर्चा भइरहेको छ ।
यसै बिच पछिल्लो समय फुर्सदमा रहेका कलाकर्मीहरुलाई पनि हालको राजनितिक घटनाक्रमले बिचलित बनाएको छ । समय समयमा बिभिन्न कलाकारहरुले राजनितिक घटनाक्रमले निम्त्याएको पिडालाई सामाजिक सञ्जालमार्फत ब्यक्त गर्ने गरेका छन् ।
यसै बिच आज हामीले पछिल्लो अवस्थाको राजनितिक घटनाक्रमलाई नियाल्दै नेपाली कलाकारहरुको नजरमा प्रधानमन्त्री केपी शर्मा ओली कस्ता व्यक्तित्व हुन् भन्ने बिषयमा चर्चा गरेका छौँ ।
हामीले केही कलाकारहरुलाई तपाईको नजरमा प्रधानमन्त्री ओली कस्ता व्यक्तित्व हुन् भनेर प्रश्न गरेका थियौँ । प्रस्तुत छ उक्त प्रश्नमा कलाकारहरुले दिएको जवाफ वाहाँहरुकै शब्दमा :
निर्मल शर्मा
आम नागरिकलाई समृद्ध नेपाल,संघियता,गणतन्त्र अनि हजारौँ सपना देखाउदै ललिपप चटाएर, आफ्नो र आफ्नाहरुको मात्र भुँडी भरी राज्यको सम्पुर्ण सेवा सुबिधाहरु प्रयोग गर्दै राजाइँ गर्ने प्रजातिलाई हाल नेता भनेर चिनिन्छ ।
अब रहयो प्रधानमन्त्रीको कुरा, प्रधानमन्त्री पनि यिनै प्रजातिहरु मध्यका एक हुन् । सुरुवातमा नेपाली जनताले उनीबाट धेरै आस गरेका थिए । तर, हालको राजनितिक घटनाक्रमले नेपाली जनताको आँखामा रहेको जालो हटाइदिएको छ ।
टिका प्रसाई
म कलाकार हुँ । त्यो भन्दा पहिले नेपाली जनता हुँ । त्यसैले पनि नेपालमा हुने हेरक प्रकारको कृयाकलापले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रभाव नपर्ने कुरै भएन । पछिल्लो बिसम् परिस्थितिमा पनि हामीले चुनेर पठाएका हाम्रा अबिभावकहरुले हाम्रो देश नेपाल र हामी नेपालीहरु प्रति देखाएको व्यावहारले हामी आफैलाई लज्जित बनाएको छ ।
प्रधानमन्त्री ओली पनि राजनितिज्ञहरु मध्य कै एक हुन । कुनै समय यिनले चै देश र जनताका हितमा काम गर्छन कि भन्ने महषुश भएको थियो । तर, पछिल्लो समयको व्यवहारले भने जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान व्यावहारीक रहेको जस्तो लाग्न थालेको छ ।
हुन त कतिपय राम्रा काम पनि भएका छन् । नेपालको राजनितिमा सबैलाई समेटेर अघि बढ्नुको बिकल्प रहदैन तर, सबैलाई समेट्न खोज्दा खोज्दै को कुन कुरामा रिसाउछ पत्तो नै पाइदैन । नेपाली राजनितिमा पनि यस्तै भएको छ ।
हिमाल दाहाल
म एउटा कलाकार भएको नाताले मैले आफ्नै देशको राजनैतिक,सामाजिक, भौगालिक र संस्कृतिक विषय समेटिएका कुनै पनि कुरामा अनबिज्ञ बन्नु हुदैन भन्ने लाग्छ । एउटा कलाकारले आफ्नो देशको बिकास र समृद्धिमा चासो राख्नु कर्तब्य हो । पछिल्लो समयको राजनैतिक अवस्थालाई नियाल्ने हो भने नेपाली जनता निरास बनेका छन् ।
राजनैतिक दलहरुको खिचातानीकै कारण राजनितिक माहोल धमिलिएको छ । बिपक्षमा रहेका राजनितिक दलहरुले यो माहोल सृजना हुनमा सबै भन्दा ठुलो हात प्रधान्मन्त्री केपी शर्मा ओलीको रहेको बताइरहेका छन् । तर मलाई भने यस्तो पटक्कै लाग्दैन ।
मैले यसो भनिरहदा मलाई कतिपयले झोले भन्ने शब्द प्रयोग गरेर होच्याउने पनि गरेका छन् ।
तर, यस्ता कुराहरुले मलाई कुनै प्रभाव पर्दैन किन भने म जे देख्छु त्यो बोल्छु । मैले यसो भनिरहदा प्रधानमन्त्री ओलीले चालेका सबै कदम ठिक छन् भनेको छैन र भन्दिन पनि ।
सबैलाई सत्ताको मोह छ, अझ भनौ आ–आफ्नो स्वार्थको लडाई छ । प्रधानमन्त्री ओलीले चालेका केही कदमहरु, जस्तै रेल भित्राउने कुरा,कालापानी,लिपुलेक र लिम्पियाधुरामा बर्षौ देखी मिचिएको भूभागको नक्सा समेटेर जारी गर्ने लगायतका कार्यहरु प्रधानमन्त्री ओलीका सम्मानयोग्य कार्यहरु हुन् । मलाई लाग्छ प्रधानमन्त्री ओलीले आफ्नै शैलीमा कार्यसम्पादन गर्न पाउने हो भने हाम्रो देशलाई छोटो समय भित्रमा नै समृद्ध राष्ट्रका रुपमा बिश्वलाई चिनाउन सकिन्छ ।
शिब थापा मगर
प्रधानमन्त्री ओली ज्यादै चलाख , जनता भन्दा नेता रिझाउन सक्ने क्षमता भएको व्यक्ति हुन् । जनताले जतिसुकै बिरोध गरेपनि नेताहरुलाई हातमा लिएर कुर्सी आफ्नै पार्न सक्ने खुबी प्रधानमन्त्री ओलीसँग छ ।
राम्रा नराम्रा काम बराबरी नै होला । हामिले नराम्रा कामलाई मात्र फोकस गर्छौ । प्रधानमन्त्री ओलीका कति कामहरु प्रसंसायोग्य पनि छन । कति बोलेका कुराहरु पुरा गर्न नसकेका होलान । मेरो बिचारमा पुरा गरेका राम्रा कामहरु मात्र हेर्ने हो भने प्रधानमन्त्री ओली जस्तो व्यक्तित्व देशलाई आवस्यक छ ।
बोधराज पुरुष
पैसा पद र पावरमा रहेर जीवनभरी बाची रहुँ भन्ने चाहना हरेक मानिसको स्वभाव हो । प्रधानमन्त्री पद छोड्न नखोज्नु त्यसैको उपज हो । मानिसको स्वभाव भित्रको गुणलाई नकार्न सकिन्न । तर पदमा रहिरहनको लागि जनता प्रति अनुत्तरदायी हुनु दुखद कुरा हो ।
पार्टी भित्र निरंकुश प्रवृत्ति हाबी हुनु, संसदिय व्यवस्थामा अंकुस लगाएर आफू अनुकुलको व्यवस्था व्याख्या गर्दै प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्री ओलीको गलत कार्य हो । यस कार्यले प्रधानमन्त्री ओली देश र जनता प्रतिको उत्तरदायित्व वहन गर्न असफल भएको प्रमाणित हुन्छ ।
आफ्नो सत्ता टिकाइराख्न जस्तो सुकै कदम चाल्न पनि पछि नपर्नुले नेपाली जनताको विश्वासमाथि प्राहार भएको भन्दा फरक पर्दैन ।
Discussion about this post