विशेष अनलाइन । बिक्रम जोशीको निर्देशनमा बन्न लागेको नयाँ नेपाली चलचित्र ‘बिक्रम’ को शुभआरम्भ भएको छ। आइतबारबाट बेलायतको राजधानी लन्डनमा यस चलचित्रको औपचारिक छायाङ्कन सुरु गरिएको छ। यो महत्वाकांक्षी परियोजना महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके, र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। यस चलचित्रकी निर्माता हिरल जोशी हुन् भने एसोसिएट निर्देशकको रूपमा सुरेश न्यौपाने (संस्कृति क्रिएशन्स नेपालका) रहेका छन्।
चलचित्र ‘बिक्रम’ मा नेपाली र विदेशी कलाकारहरूको अभिनयको संगम देख्न पाइनेछ। मुख्य भूमिकाहरूमा नेपाली अभिनेता सलोन बस्नेत, निर्देशक स्वयं बिक्रम जोशी, सनम कुमार बैरागी का साथै विदेशी कलाकार नादेशि हप्किन्स रहनेछन्। चलचित्रको प्राविधिक पक्ष पनि बलियो रहेको छ। यसको लेखन सागर प्याकुरेलले गरेका हुन् भने डि.ओ.पी. मा सौरभ लामा र छायाङ्कनमा ईश्वर सिन्केमाना रहनेछन्। रबिन भारतीले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हालेका छन्।
निर्माण पक्षले दिएको जानकारीअनुसार, चलचित्रको अधिकांश भागको छायाङ्कन बेलायतमै गरिनेछ। कूल छायाङ्कनको ९० प्रतिशत भाग लन्डन लगायत बेलायतका विभिन्न स्थानमा खिचिनेछ भने बाँकी १० प्रतिशत भाग नेपालमा शूट गरिनेछ। यसले चलचित्रलाई विश्वस्तरीय बनाउन सहयोग पुग्ने निर्माण टिमको विश्वास छ।
‘बिक्रम’ को विधा कस्तो रहनेछ भन्ने अनुमान यसअघि सार्वजनिक गरिएको यसको ‘फस्टलुक’ पोस्टरबाट लगाउन सकिन्छ। पोस्टरमा कलाकारहरूको ‘लुक्स’ हेर्दा यो चलचित्र कि त बक्सिङ खेलमा आधारित एक्सन विधाको हुनेछ, कि त विशुद्ध एक्सन जनरामा आधारित हुनेछ भन्ने अड्कल काटिएको छ।









Discussion about this post