इटहरी / बलिउडका सफल निर्देशक तथा निर्माता अनुराग कश्यपले चाडै नै नेपालमा फिल्म छायांकनका लागि आउने बताएका छन् । अनुरागले नेपालको हिमश्रृङ्खलाबाट आफू अत्यन्तै प्रभावित भएको बताउँदै नेपालमा चलचित्र छायांकनको तिब्र इच्छा रहेको बताएका हुन् । ‘म नेपालका हिमश्रृङ्खलाबाट अत्यन्तै प्रभावित छु, र मलाई त्याहा चलचित्र छायांकन गर्ने इच्छा छ’, उनले भने ।
कश्यपले बिहिबारदेखि अनलाइनको माध्यमबाट सुरु भएको अन्तराष्ट्रिय चलचित्र महोत्सव ‘निफ’को चौथो संस्करणमा आफ्नो अनुभव साट्दै आफुले केही नेपाली चलचित्र हेरेको समेत बताएका छन् । उनले नेपाली फिल्म कालो पोथी र सेतो सूर्य हेरेको बताएका हुन् । उनले बेलायतमा रहँदा आफूले डीभीडीबाट २ नेपाली फिल्म हेरेको जानकारी दिएका हुन् । कश्यपले फिल्म निर्माण तथा निर्देशनका विषयमा कुरा राख्दै आइ परेका समस्या तथा समाधान सहित आफ्नो अनुभव सुनाएका थिए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयाँल, चलचित्रकर्मी निर शाह, अन्तराष्ट्रिय फिल्म सोसाइटी फेडरेशनका अध्यक्ष पोर्चुगलका ज्वाओ पाउलो मसेदो, निर्देशक तुलसी घिमिरे लगायतले आफ्नो भनाई राखेका थिए ।
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ को चौथो संस्करण बिहिबारबाट सुरु भएको छ । यसपटक कोरोना भाइरसको महामारीका कारण भौतिक उपस्थितीमा निफ को आयोजना हुन सकेन । जसले गर्दा आयोजकले अनलाइनको माध्यमबाट नै कार्यक्रमको सुरुवात गरेको छ । नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्यले यो महोत्सवको आयोजना हुँदै आएको छ ।
Discussion about this post