विशेष अनलाइन । दीपेन्द्र के खनालको निर्देशनमा चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा उक्त शीर्षकमा चलचित्र दर्ता भएको छ ।सरोज ओलीको निर्माण रहने चलचित्रमा अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिकामा रहने भएका छन् ।
चलचित्रको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् ।चलचित्र निर्माणमा भने ओली पहिलो पटक होमिन लागेका हुन् । हरिवंशले आफूले खोजेजस्तै कन्सेप्ट सुनाएपछि चलचित्र निर्माण गर्न कस्सिएको निर्माता ओलीले बताए ।
ओली भन्छन् , ‘करिब २५ वर्षदेखि कला क्षेत्रमा लागि रहेको थिएँ । तर फिल्म निर्माणको साइत जुरेको थिएन । राम्रो कथा पाएँ भने चलचित्र निर्माण गर्छु भन्ने तयारीमै थिएँ । हरिबहादुर जुत्ताको कन्सेप्ट मन परेर निर्माता बन्न लागेको हु।’
अभिनेताद्वय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो । तीनैजनाले यसअघिसँगै चलचित्रमा सहकार्य गरेका छैनन् । प्रकाशका अनुसार यो चलचित्र तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ ।
प्रकाश भन्छन्, ‘म सानैदेखि हरिवंशदाईलाई टेलिभिजनमा देखेर हुर्किएको हुँ’। संगीतमा लाग्छु भन्ने त थियो तर फिल्ममा यसरी कामगर्न पाउँला सोचेको थिइनँ । आज उहाँसँग जोडिन पाउँदा औधी खुशी छु ।’
चलचित्रको थप ‘कास्ट एन्ड क्रु’ फाइनल हुन बाँकी छ । कथासारबारे पनि निर्माण पक्षले केही खुलाएको छैन ।
Discussion about this post