विशेष अनलाइन । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘रङ्गेली’यति बेला देशैभर प्रदर्शन भइरहेको छ । प्रदर्शनमा आएदेखि नै चलचित्रले सुखद व्यापार गरिरहेको छ । विशेष गरी अभिनेता दयाहाङ राईको प्रशंसा नेपाली दर्शकले गरीरहेका छन् । अभिनेता राईलाई लामो समयदेखि एक खालको चरित्रमा देखिरहेको गुनासो नेपाली दर्शकले गर्ने गरेका थिए । तर, ‘रङ्गेली’मा फरक भूमिकामा अभिनेता राईलाई प्रस्तुत गरिएको छ ।
यसै बिच चलचित्र हेरेका कलाकारहरूले पनि चलचित्रको तारिफ गरेका छन् । चलचित्र हेरेपछि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले ‘रङ्गेली’को खुलेर तारिफ गरिन् । उनले आफूले अपेक्षा गरेको भन्दा उत्कृष्ट चलचित्र निर्माण भएको बताइन् । चलचित्रको कथावस्तु छुट्टै शैलीको रहेको उल्लेख गर्दै चलचित्रले नेपाली दर्शकलाई फरक स्वाद प्रस्तुत गर्न सफल भएकोमा चलचित्र निर्माण युनिटलाई बधाई दिइन् ।
चलचित्रमा नसोचेको क्लाइमेक्स रहेको दीपाश्रीले बताइन् । ‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।
Discussion about this post