BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ ३१, २०७९, २:१४ मध्यान्ह
in FEATURE, गीत संगीत, साहित्य
इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी
108
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल-एक समय आदिवासी थारु (चौधरी) समुदायको सघन बसोबास रहेको इटहरीमा जातीय चाडपर्व तथा विभिन्न अवसरमा प्रस्तुत हुने परम्परागत नाचगान नै साङ्गीतिक–साहित्यिक आनन्द लिने स्थानीय माध्यम थियो । इटहरीको साहित्य, कला, सङ्गीतको इतिहासको कुरा गर्दा थारु समुदायका झुम्रालगायत परम्परागत नाचगान सम्झिन्छन् पुराना साहित्यिक सम्पादक रमेश विष्ट ।

विष्टका अनुसार इटहरीमा त्यो बेलाको मनोरञ्जन र साहित्यिक गतिविधि यताका थारु कलाकारले प्रस्तुत गर्ने सांस्कृतिक नाचगान तथा भारतबाट आएका कलाकारले देखाउने हिन्दी भाषाका रामलीला, कृष्णचरित्र आदि धार्मिक नाटककै सेरोफेरामा सीमित थिए । अलिपछि कविरपन्थी साधुहरूको घुमन्ते समूह इटहरी आयो, जसले चार नम्बर पोखरी टोलसहित चोक–बस्तीमा हिन्दी कविताजस्ता हरफहरू गाएर सुनाउँथ्यो । इटहरीको साहित्यिक उठानको पृष्ठभूमि त्यही साधु–सङ्गतिमा गएर जोडिन्छ ।

२०२२ सालमा तेह्रथुमबाट इटहरी आएका विष्ट २०२३ सालमा जनता स्कुलमा भर्ना भए । बीच–बीचमा कक्षा फड्किँदै २०२४ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्दा उनी १८ वर्षका थिए ।

त्योबेला जनता स्कुलका प्रधानाध्यापक थिए भोजराज खनाल, जसले हरेक शुक्रबार चौथो घन्टीमा साहित्य गोष्ठी आयोजना गर्ने चलन चलाएका थिए । त्यो बेलाका गोष्ठीमा साहित्यिक रचना सुनाउने, गीत गाउनेहरू हुन्थे– रमेश विष्ट, प्रमोद श्रेष्ठ, लेखनाथ घिमिरे, ऋतु आशिक, बसन्त सुवेदी, भैरव राई, कालीप्रसाद वस्ती, गोपाल नेपाल, शेरबहादुर अमर, कुलचन्द्र काफ्ले, लालसिंह सुब्बा, चूडामणि फुयाल, काजी फुयाल, श्रीप्रसाद पोखरेल, राधा थापा, कमला थापा आदि ।

२०१७–०१८ सालतिर राजा महेन्द्रले गरेको राजनीतिक कुविरुद्ध समाज जागरणको प्रारम्भिक समय थियो । त्यो बेला किसान भेलाका नाममा साहित्यिक आवरणमा राजनीतिक जागरणका कुरा हुन्थे । धरान–विराटनगरसहित सेरोफेरोका स्रष्टा इटहरीमा भेला गरिन्थे । त्यसको संयोजन प्रेमबहादुर कार्कीले गर्थे । त्यतिबेलासम्म इटहरीमा साहित्यिक संस्थाहरू थिएनन्, कविहरू पनि थिएनन् ।

क्रमशः स्कुलमा विद्यार्थीलक्षित साहित्यिक कार्यक्रम हुन थाले । लक्ष्मी जयन्ती, बुद्ध जयन्ती, भानु जयन्ती, नयाँ वर्ष, राजाका जन्मदिनहरूमा साहित्यिक गोष्ठी हुन्थे । विगत सम्झिँदै विष्ट भन्छन्, ‘२०२३ सालमा स्कुलमा भएको कवि गोष्ठीमा बाढी आयो शीर्षकको कविता सुनाएर फस्ट भएँ, जसले मलाई निरन्तर साहित्यमा लाग्न प्रेरित ग¥यो ।’

२०२५ सालमा इटहरीका समकालीन स्रष्टा मिलेर पसिना वाचनालय तथा जागृति पुस्तकालय स्थापना गरे । त्यही सेरोफेरोमा रमेश विष्ट, बसन्त सुवेदी, मधु रिमालले ‘झुत्तो’ नामक सामयिक सङ्कलन भारतबाट छपाएर ल्याए र इटहरीमा बाँडे । त्यही सामयिक सङ्कलन नै इटहरीको साहित्यिक इतिहासको पहिलो दस्ताबेज हो ।

त्यो बेला साहित्यिक पत्रिका दर्ता तथा प्रकाशन गर्ने अनुमति पाइँदैनथ्यो । कथा, कविता, लेख, विचारहरू सामयिक सङ्कलनका नाममा छाप्नुपथ्र्यो । रमेश विष्टसहित साहित्यिक सङ्गतिले २०२७ सालमा ‘जनमुक्ति’ नामक अर्को सामयिक सङ्कलन पनि प्रकाशित ग¥यो ।

२०१७ सालमा सिक्किमबाट साहित्यकार धरणीधर दाहाल झापा, बुधबारे हुँदै इटहरी आए । दाहालले मानवशास्त्र विधामा लेखेको पुस्तक ‘नृवंश शास्त्र’मा आधारित ‘म, प्रियसी, नानीहरू जोड मिसाइल बराबर जिरो’ शीर्षकको नाटक एक समयको चर्चित प्रस्तुति थियो ।

इटहरी आएपछि दाहालले यहाँ छरिएर रहेको साहित्यिक जमातलाई सङ्गठित गरे । साहित्यिक सङ्गतिहरूको घेरो बढाए । भाषाशास्त्री, कवि महानन्द सापकोटालगायत अग्रज स्रष्टाहरू दाहाललाई भेट्न इटहरी आउँथे ।

२०४३ सालमा दाहालको नेतृत्वमा इटहरी साहित्यिक समूह (इसास) नामक संस्था गठन भयो, जसले नियमित खुला कविता गोष्ठी, छन्द कविता गोष्ठी, लघुकथा गोष्ठीलगायत कार्यक्रम गर्न थाल्यो ।

इसासले त्यसयता आजसम्म पनि विभिन्न साहित्यिक गतिविधिहरू गर्दै आएको छ । सोही समूहले २०४६ सालमा ‘पूर्वाञ्चल’ नामक कविता सँगालो प्रकाशित गरेको थियो, जसको विमोचन पञ्चायत भवन परिसरमा पूर्वाञ्चल स्तरीय कविता गोष्ठीसहित भएको थियो । मुख्य अतिथि थिए– तत्कालीन शिक्षामन्त्री कवि क्षेत्रप्रताप अधिकारी ।

‘त्यस्तो भव्य र स्तरीय कार्यक्रम इटहरीमा कमै भएका छन्,’ इसासका निवर्तमान अध्यक्ष श्रीप्रसाद पोखरेल भन्छन्, ‘२०४३ देखि २०४६ सम्मको अवधि इटहरीको साहित्यिक–वृत्तको स्वर्णकाल थियो भन्दा फरक पर्दैन ।’

पोखरेलका अनुसार २०४६ पछि स्रष्टाहरू राजनीतिक रूपमा विभक्त भए । आ–आफ्नो राजनीतिक–वैचारिक अस्तित्व देखाउने क्रममा सङ्गठित साहित्यिक अभ्यासहरू भने फितला भए । यद्यपि २०५४ सालमा स्थानीय स्रष्टाहरूले जनकविकेशरी धर्मराज थापालाई इटहरी बोलाएर एउटा स्तरीय साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो ।

त्यो बेला इटहरीको साहित्यिक–शैक्षिक जमातमा शेरबहादुर अमर (भुजेल) चर्चित नाम हो । जनता माविका शिक्षकसमेत रहेका उनको पञ्चायत कालमै ‘देशलाई खोज्दा’ नामक कविता–गीतसङ्ग्रह प्रकाशित भएको थियो । कलाकारसमेत रहेका उनको ‘बलभद्रको देश हो यो लालीगुराँस फुल्दछ’ बोलको गीत प्रायः साङ्गीतिक–सांस्कृतिक कार्यक्रममा सामूहिक नाचसहित प्रस्तुत हुने गथ्र्यो ।

इटहरीको कला तथा साहित्यको विकासका लागि उल्लिखितबाहेक विभिन्न सङ्घ–संस्थाले समय क्रममा गरेको कार्य एवम् योगदान अतुलनीय छ । सङ्कल्प नाट्य जमात, इटहरी कला प्रतिष्ठान, मदानी समूह, प्रभात सङ्गीत समूह, पूर्वाञ्चल सङ्गीत विद्यालय, अमूल्य ब्यान्ड, मेलोडी साङ्गीतिक समूह, वि–सेभेन ब्यान्डलगायत संस्थाले इटहरीको कला तथा साहित्यको विकासमा अतिरिक्त इँटा थपेका थिए । तर हाल ती संस्था क्रियाशील छैनन् ।

अलिपछि इटहरीबाट ‘गौँडो’ नामक सामयिक सङ्कलन निस्कियो । दिनेश पौडेललगायतको पहलमा ‘कोसेढुङ्गा’ साहित्यिक पत्रिका १२ अङ्क र प्रमिथस एक अङ्क प्रकाशित भयो । कृष्णविनोद लम्सालको सम्पादनमा प्रगति नामक पाक्षिक पत्रिकाले पनि साहित्यिक विशेषाङ्क प्रकाशित गथ्र्यो ।

केशव सुनाम, वद्रीविशाल पोखरेलहरूको पहलमा ‘स्रष्टा–सङ्गम’ ब्यानरमा सडक कविता–वाचन कार्यक्रम करिब एक वर्ष चलेको थियो । तिनै दिनहरूमा मनु मन्जिल, कुमुद अधिकारी, दिनेश पौडेल, रामजी तिमल्सिना, हेमन यात्री, सविता गौतम दाहाल, ज्योति जङ्गल, शालिकराम ढकाल, श्रीधर शर्मा, सुकदेव अधिकारीलगायत स्रष्टाहरू इटहरीमा साप्ताहिक भेला भएर प्रकाशित हुनुपूर्व आफ्ना रचनाको आन्तरिक समीक्षा गर्थे । सिर्जन समूह (राइटर्स सर्कल) नाम दिइएको सो साहित्यिक गतिविधि २०६५ देखि २०६९ सम्म चलेको थियो ।

कोसी कलेज इटहरीका विद्यार्थीलक्षित ‘रिडर्स सर्कल’ नामक विशेष साहित्यिक गतिविधि पनि दुई वर्ष चल्यो । २०६६–०६८ सम्म चलेको यस गतिविधिअन्तर्गत कलेजका शिक्षक तथा विद्यार्थीलाई विभिन्न साहित्यिक पुस्तक पढ्न दिइन्थ्यो । पढिसके पछि भेला भएर समीक्षा गरिन्थ्यो ।

यस्तो पृष्ठभूमिबाट इटहरीको साहित्य तथा कला माथि उठेको हो । पछिल्लो समय राजनीतिक–प्रशासनिक नेतृत्वले खासै महत्त्व नदिँदा इटहरीको कला–साहित्यसम्बन्धी गतिविधि भने अपेक्षित रूपमा अघि बढ्न सकेन ।

कवि तथा कलाकार विक्रमश्रिका शब्दमा भन्दा– छँदाखाँदाको सांस्कृतिक भवन तथा नगर पुस्तकालयमा राजनीतिक हस्तक्षेप भयो । कवि–कलाकारहरूले निःशुल्क कार्यक्रम गर्न पाउने थलो खोसियो । काव्य–वाटिका मासेर वडा कार्यालय बनाइयो । ग्रामथानका डोजर चलाइयो । साहित्यिक, सांस्कृतिक प्रतिष्ठा बढाउने काममा बेवास्ता भयो ।

राजनीतिक नेतृत्वले बेवास्ता गरे पनि इटहरीका स्रस्टा–कलाकार तथा पछिल्लो समय गठन भएका संस्थाहरूको पहलमा साहित्यिक एवम् कलासम्बन्धी गतिविधिहरू भई नै रहे, जसले इटहरीको कला र साहित्यका उत्साहजनक इतिहासलाई बचाउने प्रयास गरी नै राखे ।

‘साहित्य यस्तो विधा हो, जहाँ राजनीतिक दल, जात, धर्म, लिङ्ग, वर्ण र उमेरले फरक पार्दैन । जहाँ क्षमताको कदर हुन्छ । आत्मीयता साटासाट हुन्छ,’ कवि मनु मन्जिल भन्छन्, ‘परिस्थिति जे भए पनि साहित्य आफ्नो बाटो बनाउँदै अघि बढ्छ ।’

हाल इटहरी साहित्यिक समूह, अच्छा राई रसिक साहित्य प्रतिष्ठान, सङ्गीत साधना प्रतिष्ठान नेपाल, कलालय, इटहरी म्याट्रिक्स, जनजागरण पुस्तकालय, साहित्य सञ्चार प्रतिष्ठान, जिबी लुगुन प्रतिष्ठान, प्रश्रित प्रतिष्ठान, क्यानभास साहित्य समाज, सगरमाथा साहित्य प्रतिष्ठान, त्रिवेणी साहित्यिक समूह, शब्द प्रवाह, डियर कल्याण प्रतिष्ठानलगायत सङ्घ–संस्थाले इटहरीको कला तथा साहित्यिक विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

त्यस्तै, मुकुल दाहालको सम्पादनमा ‘पेन हिमालय’ नामक अङ्ग्रेजी पोर्टल, कुमुद अधिकारीको सम्पादनमा साहित्य–सरिता नामक अनलाइन तथा दिनेश पौडेलको सम्पादनमा ‘शब्दसार’ पत्रिकासहित विभिन्न स्रष्टाका कला, साहित्यिक एवम् साङ्गीतिक गतिविधिले इटहरी क्षेत्रको कला तथा साहित्यिक तिर्खा मेट्ने प्रयास गरिरहेका छन् ।

इटहरीमा साहित्यका हिसाबले उल्लिखितबाहेक पिताम्बरभोला लम्साल, भरत शर्मा गैरीपिप्ली, मुक्ति पोखरेल, जिबी लुगुन, चूडाबसन्त लम्साल, बद्री भिखारी, कृष्ण अधिकारीलगायत व्यक्तित्व अग्रज स्रष्टाका रूपमा परिचित छन् ।

मनु मन्जिल, दिनेश पौडेल, कुमुद अधिकारी, हेमन यात्री, देवान किराती, सुविद गुरागाई, गायत्री लम्साल, निरज कोइराला, हेमन्त गौतम, वीरेन्द्र कार्की, जगदीश सापकोटा, विक्रमश्रि, अविराम क्रान्ति, केशव दाहाल, शर्मिला दाहाललगायत बीच छिमलका साहित्यकारहरू हुन् । वियोग सापकोटा, टीका आत्रेय, राम खरेल, राज आशातीत, जिपी तिवारी, जिबी गजल, नवराज मैनाली, सन्तोष यादव, सिएन गौतम, प्रज्ज्वल पराजुली, विराट अनुपम, विनय सरगम, किरण सिवा, विवेकविवश रेग्मी, मीना श्रेष्ठ, विकेश कविन, मिरा पोखरेल, आलोक खनाल, सुमन रेग्मी, आदि नयाँ पुस्ताका साहित्यकार–लेखकका रूपमा परिचित छन् ।

इटहरीमा साहित्यिक गतिविधि संस्थागत रूपमा जीवन्त राख्न सरकारी स्तरबाट विशेष कदम चालिनुपर्ने आवश्यकता रहेको साहित्यकार दिनेश पौडेल बताउँछन् ।

त्यसो त इटहरीको कला–साहित्य क्षेत्रको विकासका लागि भन्दै उपमहानगरपालिकाले २०७८ माघमा साहित्यकार कृष्णविनोद लम्सालको संयोजकत्वमा ‘इटहरी भाषा, कला, साहित्य, सिर्जना परिषद्’ गठन गरेको छ । परिषदमा मणिराज गुरुङ तथा टीका आत्रेय सह–संयोजक, बद्री भिखारी सचिव, वासुदेव तिम्सिना सहसचिव र प्रज्ज्वल पराजुली कोषाध्यक्ष रहेका छन् । रीता ताम्राकार, सुष्मा तिम्सिना, दुर्गा दाहाल, अभिषेक तिम्सिना, सोनु जयन्ती, दिनेश कोइराला, प्रकाश सुब्बा, हेमन्त गौतम र नवीन न्यौपाने सदस्य छन् ।

परिषदले २०७८ चैतमा दुई दिने ‘इटहरी सिर्जना उत्सव’ आयोजना गरेको थियो, जसमा कला तथा साहित्य क्षेत्रका व्यक्तित्वहरू बद्रीविशाल पोखरेल, कृष्ण अधिकारी, मनु मन्जिल, लालसिंह सुब्बा, होम घिसिङ, नवल नेपाल, विक्रमश्रि, गुरुदयाल चौधरीलाई सम्मान गरिएको थियो ।

यसबाहेक कला–साहित्य क्षेत्रलाई नगरपालिकाले उचित स्थान दिन नसकेको स्रष्टाहरूको गुनासो छ । कलाकार विक्रमश्रिका अनुसार इटहरीमा बजेट विनियोजन हुँदा कला–साहित्यको विकासलाई प्राथमिकता दिने प्रचलन र राजनीतिक संस्कार नै छैन ।

उपमहानगरपालिकाले २०७७–०७८ मा साहित्यिक कार्यक्रम, स्रष्टा–सम्मान तथा काव्य पुरस्कारका लागि तीन लाख, सङ्गीत विद्यालय सञ्चालनका लागि चार लाख, भाषा, साहित्य सिर्जना तथा सांस्कृतिक दिवस, चाड शीर्षकमा तीन लाख रुपैयाँ छुट्याएको थियो । २०७८–०७९ मा भने साहित्यिक कार्यक्रम, स्रष्टा–सम्मान तथा काव्य पुरस्कारअन्तर्गत दुई लाख, सङ्गीत साधना प्रतिष्ठानलाई पाँच लाख, भाषा, कला, साहित्य सिर्जना परिषदलाई दुई लाख, सांस्कृतिक दिवस तथा चाड सहयोगअन्तर्गत तीन लाख बजेट विनियोजित थियो ।

उपमहानगरपालिकाले कला, साहित्य, सङ्गीतको विकासका लागि अपेक्षित बजेट विनियोजन नगरेको तथा पुस्तकालय उत्थानका निम्ति कुनै कदम नचालेको भन्दै इटहरीका स्रष्टाहरू आन्दोलनमा समेत उत्रिएका थिए ।

यहाँको कला तथा साहित्य क्षेत्रको विकासका लागि पछिल्लो पाँच वर्ष उपलब्धिमूलक हुन नसकेको स्रष्टा मिथिला पोखरेलको भनाइ छ । नयाँ संरचना निर्माण त परको कुरा भयो, भएकै पुस्तकालय तथा सांस्कृतिक भवनसमेतको संरक्षण र सदुपयोग हुन नसकेको पोखरेल बताउँछिन् ।

इटहरी उपमहानगरपालिकाका सल्लाहकार बद्रीविशाल पोखरेलले आफ्नो सल्लाह सुनुवाइ नभएको भन्दै राजीनामा दिएका थिए । उनले राजीनामा–पत्रको सुरुवातमा नै ‘सर्पहरू गीत–सङ्गीत सुन्दै–सुन्दैनन्’ भन्दै व्यङ्ग्य कसेका थिए ।

स्थानीय सरकारले कला तथा साहित्यका क्षेत्रका लागि केही बजेट छुट्याउने गरेको भए पनि अपनत्व ग्रहण गर्न नसकेको रङ्गकर्मी सोनु जयन्तीको गुनासो छ । इटहरीको कला तथा साहित्यको विकासका लागि अबको स्थानीय सरकारले शून्य अवस्थाबाट नै काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

हाल इटहरी उपमहानगरपालिकाले नयाँ जनप्रतिनिधि पाएको छ । नयाँ जनप्रतिनिधिबाट पूर्वाधार विकाससँगै कला तथा साहित्यको क्षेत्रमा पनि उल्लेख्य कार्य हुनेमा इटहरीका कला तथा साहित्य–सर्जकहरू आशावादी छन् ।

-मनोज दाहाल,इटहरी

Previous Post

‘लण्डन टु पेरिस’मा गरिमा

Next Post

स्व.जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’मा तामाङको ऎतिहासिक कथा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
Next Post
स्व.जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’मा तामाङको ऎतिहासिक कथा

स्व.जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’मा तामाङको ऎतिहासिक कथा

Discussion about this post

ताजा अपडेट

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
0

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
0

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
0

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।