विशेष अनलाइन । लक्ष्मण रिजालको निर्देशनमा बनेको नयाँ चलचित्र ‘काजी’ को ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको छ। आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको यस चलचित्रको तीन मिनेट लामो ट्रेलरले दर्शकमाझ चलचित्रको मुख्य विषयवस्तुलाई प्रस्तुत गरेको छ। यसमा मुख्य जोडी विपिन कार्की र केकी अधिकारीलाई केन्द्रमा राखेर उनीहरूको सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ।
चलचित्रमा विपिनले ‘काजी’ र केकीले ‘कजिनी’ को भूमिका निर्वाह गरेका छन्। ट्रेलरका अनुसार, एक टुहुरो काजीले विवाहपछि आफ्नी श्रीमतीलाई गर्ने निस्वार्थ माया र विश्वास नै चलचित्रको मूल कडी हो। तर, वैवाहिक सम्बन्ध जोगाउने प्रयासमा कजिनीले बोलेको एउटा झुटले कथामा कसरी नयाँ मोड ल्याउँछ भन्ने रोचक पक्षलाई ट्रेलरमा संकेत गरिएको छ, जसले पारिवारिक प्रेमकथा मन पराउने दर्शकलाई आकर्षित गर्छ।
चलचित्रमा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीप बाबु लोहनी, रोजी श्रेष्ठ र प्रशंसा सुवेदीको यसमा अभिनय रहेको छ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माताहरू रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी रहेका छन्। चलचित्रको पर्दा पछाडिको टोलीमा प्रदीप भारद्वाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन र विपिन मल्लको सम्पादन समावेश छ। संगीतको पक्षमा भने कालीप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको पार्श्व संगीत र कविराज गहतराजको नृत्य निर्देशनले चलचित्रलाई पूर्णता दिएका छन्।









Discussion about this post