विशेष अनलाइन । लक्ष्मण रिजालको निर्देशनमा तयार भएको प्रतीक्षित चलचित्र ‘काजी’को पहिलो सांगीतिक कोसेली ‘वारि बर पारी पिपलु’ राजधानीमा आयोजित एक विशेष समारोहका बिच सार्वजनिक गरिएको छ। यो गीतले चलचित्रको मूल भाव र कथासारलाई सङ्केत गर्न खोजेको छ। चर्चित संगीतकार काली प्रसाद बास्कोटाको शब्द तथा संगीत सिर्जना रहेको यस गीतमा गांगा सोनाम र करण परियारले सुमधुर स्वर दिएका छन्।
विशेष गरी पति-पत्नीको प्रेम र पारिवारिक निकटतामा आधारित यो गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी नव विवाहित जोडीको रूपमा प्रस्तुत भएका छन्। गीतमा यी दुई पात्रको प्रेमिल दैनिकीलाई सुन्दर ढंगले उतारिएको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा बिहानको पूजापाठदेखि लिएर खेतबारीको काम गर्दाको दृश्यले नेपाली ग्रामीण परिवेश र दम्पतीबिचको आत्मीयतालाई जीवन्त बनाएको छ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको यस चलचित्रमा विपिन र केकीका साथै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे र विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रमा हिउँवाला गौतम, विनोद न्यौपाने, रश्मि भट्ट र बाल कलाकारहरूको समेत सशक्त उपस्थिति छ। भावनात्मक र सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रले मानवीय सम्बन्ध, माया, जिम्मेवारी र जीवनका विभिन्न पाटाहरूलाई कलात्मक रूपमा पर्दामा उतार्ने प्रयास गरेको छ।
राम प्रसाद रिजाल प्रस्तुतकर्ता रहेको यस चलचित्रका निर्माताहरू नेहान रिजाल र विकाशराज जोशी हुन् भने असिम काफ्लेले कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन्। प्रदीप भारद्धाजको कथा लेखन र चिन्तन राजभण्डारीको छायांकन रहेको यो चलचित्रले नेपाली समाजको वास्तविक र मर्मस्पर्शी कथालाई समेटेको निर्माण पक्षको दाबी छ।
लामो समयदेखि प्रतिक्षा गरिएको यो चलचित्र आगामी जेठ ८ गतेबाट देशभरका चलचित्र घरहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।










Discussion about this post