विशेष अनलाइन । अभिनेता पल शाहको निर्माण तथा मुख्य भूमिका रहने चलचित्र ‘यानीमाया’को निर्देशक परिवर्तन भएका छन्। चलचित्र घोषणा हुँदा निर्देशकका रूपमा रहेका विकास सुवेदीको स्थानमा अब ओम प्रतीकले निर्देशनको जिम्मेवारी सम्हाल्ने भएका हुन्। सोमबार अभिनेता पल शाहसँग कागजी सम्झौता गरेपछि निर्देशक प्रतीकले सामाजिक सञ्जालमार्फत आफू यस चलचित्रसँग जोडिएको जानकारी सार्वजनिक गरेका छन्।
यो चलचित्र गत वर्षको वैशाख १ गते औपचारिक रूपमा घोषणा गरिएको थियो। घोषणा भएको एक वर्ष बितिसक्दा पनि आन्तरिक कारणले गर्दा चलचित्रको छायाङ्कन सुरु हुन सकेको थिएन। यसअघि गत साउन महिनामा छायाङ्कनका लागि प्राविधिक टोली बागलुङको ढोरपाटन पुगेको भए तापनि निर्माता र निवर्तमान निर्देशक सुवेदीबीच उत्पन्न मतभेदका कारण काम अगाडि बढ्न सकेको थिएन।
निर्देशक परिवर्तन भएसँगै अब चलचित्रको कलाकार चयन (कास्टिङ) मा पनि केही फेरबदल हुन सक्ने चर्चा सुरु भएको छ। नयाँ निर्देशकका रूपमा भित्रिएका ओम प्रतीकले यसअघि पल शाहलाई ‘मोहर’ जस्तो व्यावसायिक रूपमा सफल चलचित्र दिइसकेका छन्। उनीहरूको यो पुनः सहकार्यले चलचित्र ‘यानीमाया’ प्रति दर्शकहरूको उत्सुकता थप बढाएको छ।
पल शाह चलचित्रस् को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा पलका साथै चन्द्रज्योति आले निर्माताका रूपमा रहेकी छिन्। आफ्नै निर्माण कम्पनीबाट धेरै म्युजिक भिडियोहरू निर्माण गरिसकेका पलले ‘यानीमाया’ मार्फत पहिलो पटक चलचित्र निर्माणमा हात हालेका हुन्। निर्माण पक्षका अनुसार अब केही समयमै चलचित्रको छायाङ्कन सुरु गरिने तयारी भइरहेको छ।









Discussion about this post