विशेष अनलाइन । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टोलीले गीत सार्वजनिक गरेको हो। ग्रामीण परिवेशको सुन्दरता र मौलिकता झल्किने यस गीतमा रञ्जित गजमेरको संगीत रहेको छ भने स्वयम् निर्देशक घिमिरेकै शब्द रचना समावेश छ।
सार्वजनिक गीतमा भारती घिमिरे, साकार अप्टे, अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ र विपिन कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ। विशेष गरी अभिनेता विपिन कार्कीले यस गीतमा र्याप मार्फत नयाँ स्वाद पस्किएका छन्। यो गीतले सन् १९९० को चर्चित गीत ‘मोहनी लाग्ला है’ को याद दिलाउने गरी संगीतकार गजमेरले तयार पारेका छन्, जसले गर्दा पुराना र नयाँ पुस्ता दुवैलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
नृत्यप्रधान रहेको यस गीतले चलचित्रको मूल भावलाई समेत प्रस्तुत गरेको छ। ग्रामीण सौन्दर्यसँगै धन कमाउनका लागि युवाहरूले गाउँ छाड्नुपर्ने बाध्यता र सहरभन्दा गाउँ नै उपयुक्त रहेको सन्देश गीतमा समेटिएको छ। गीतले विशेष गरी नेपाली पहाडी जनजीवनको यथार्थ चित्रण गर्दै चलचित्रको कथावस्तुबारे संक्षिप्त प्रकाश पारेको छ।
यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, भारती घिमिरे, प्रियंका कार्की, अरुण क्षेत्री लगायतका नाम चलेका कलाकारहरूको अभिनय रहेको छ। भाग्यरत्न चलचित्रस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा पहाड रित्तिँदै गएको सामाजिक, सांस्कृतिक र आर्थिक असरको कथालाई मार्मिक ढंगले उतारिएको छ।
निर्देशक घिमिरेको यो नयाँ प्रस्तुति आगामी १ वैशाख, २०८३ देखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शन हुने तयारीमा छ।









Discussion about this post