विशेष अनलाइन । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनबाट पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। धरानस्थित होटल धरान किचनमा सम्पन्न सो अधिवेशनले आगामी कार्यकालका लागि श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको हो। विगत १६ वर्षदेखि कोशी प्रदेशको इटहरीलाई मुख्य कार्यक्षेत्र बनाएर चलचित्र पत्रकारितामा सक्रिय श्रेष्ठ ‘परिकला न्युज डटकम’का सञ्चालक समेत हुन्। आफ्नो जीवनकालमा पहिलो पटक संस्थागत नेतृत्व सम्हाल्न लागेका श्रेष्ठले यस जिम्मेवारीलाई उत्साहका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा ‘रश्मी’ र कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन्। त्यसैगरी, कार्यसमिति सदस्यहरूमा रबिना काफ्ले, आरबी कटुवाल, अस्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सन्जिब तिम्सिना, एलएन गच्छदार, मोहन अधिकारी, इजन तामाङ र विशाल काफ्ले रहेका छन्। अधिवेशनले प्रदेश र केन्द्रीय प्रतिनिधिहरूको समेत टुङ्गो लगाएको छ, जसमा निवर्तमान अध्यक्ष विनोद विश्वकर्मा र आरती थापा ‘रश्मी’ केन्द्रीय प्रतिनिधिका रूपमा चुनिएका छन्।
अध्यक्षमा निर्वाचित भएलगत्तै श्रेष्ठले सुनसरी शाखाका लागि आफ्नै कार्यालय स्थापना गर्ने महत्वपूर्ण घोषणा गरेका छन्। उक्त कार्यालयमा प्रेस मिट, तालिम तथा साना कार्यक्रमहरू आयोजना गर्न मिल्ने हलको सुविधा समेत रहने उनले बताए। यसका साथै, नयाँ कार्यसमितिले चलचित्र पत्रकारहरूका लागि ‘न्युज पोष्टर डिजाइन’ सम्बन्धी विशेष तालिम सञ्चालन गर्ने योजना अघि सारेको छ। कार्यसमितिको पहिलो बैठकले अध्यक्षका यी योजनाहरूलाई सर्वसम्मत रूपमा पारित गरिसकेको छ।
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा निवर्तमान अध्यक्ष विनोद विश्वकर्माले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने निर्वाचन मण्डलको संयोजकत्व केन्द्रीय सदस्य नरेन्द्र बस्नेतले गर्नुभएको थियो। सोही अवसरमा संघका निवर्तमान केन्द्रीय अध्यक्ष स्व. दिनेश सिटौलाको स्मरण गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा ‘अदक्ष नभई एक कुशल अध्यक्ष’ भएर काम गर्ने अठोट लिएका छन्। कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल चलचित्रकर्मी महासंघका महासचिव दिनेश कोइराला लगायतका चलचित्र क्षेत्रका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।









Discussion about this post