विशेष अनलाइन । सुनिल पाण्डेको निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘मुक्तिपुर’को छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ। काठमाडौँको वसुन्धरास्थित इन्द्रायणी मन्दिरमा चलचित्रको शुभमुहूर्त गर्दै निर्माण टोली छायाङ्कनका लागि फ्लोरमा निस्किएको हो। यस चलचित्रमा नेपाली सञ्चार र अभिनय क्षेत्रका परिचित अनुहारहरू नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेतीको मुख्य अभिनय रहनेछ। यसै चलचित्रमार्फत अभिनेत्री आकृति बुढाथोकीले नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।
‘क्राइम रिभेञ्ज’ जनरामा निर्माण हुन लागेको यस चलचित्रले बदलाको रोचक कथालाई पर्दामा उतार्नेछ। चलचित्रको विषयवस्तुबारे प्रस्ट पार्दै निर्देशक पाण्डेले यो एक सामान्य परिवारको प्रतिनिधित्व गर्ने पात्रको जीवनमा घट्ने विशिष्ट घटना र त्यसपछि उत्पन्न हुने सङ्घर्षको कथा भएको बताएका छन्। एउटा कठिन परिस्थितिबाट गुज्रिएपछि पात्रले प्राप्त गर्ने सफलता र उसले लिने बदलालाई चलचित्रको मुख्य सार बनाइएको छ।
अभिनेता नाजिर हुसैनले ‘मुक्तिपुर’ आफ्नो अभिनय यात्राको एक महत्त्वपूर्ण इँटा हुने विश्वास व्यक्त गरेका छन्। उनले हरेक चलचित्रमा आफूलाई नयाँ स्वरूपमा प्रस्तुत गर्ने चाहनाअनुरूप नै यस आयोजनासँग जोडिएको बताए। विगतका भूमिकाभन्दा भिन्न र सशक्त अभिनय दर्शकले यस चलचित्रमा देख्न पाउने उनको दाबी छ। त्यस्तै, म्युजिक भिडियोबाट चर्चा कमाएकी अभिनेत्री आकृति बुढाथोकीले पनि आफ्नो पहिलो चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको बताएकी छन्।
साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेस्ट चलचित्र एकेडेमीको सहकार्यमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन तालिका ४० दिनको तय गरिएको छ। विजय राजवंशी र रोशन पासवान निर्माता रहेको यस चलचित्रमा विशाल श्रेष्ठ कार्यकारी निर्माता र केशव गौतम सह-निर्माताको रूपमा रहेका छन्। सञ्जय गुरुङ र सुरज चौधरी लाइन प्रोड्यूसर रहेको यस चलचित्रमा शरद महतोको छायाङ्कन र सम्राट् बस्नेतको द्वन्द्व निर्देशन रहनेछ। हालसम्म चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन।









Discussion about this post