विशेष अनलाइन । अन्तर्राष्ट्रिय नारी दिवसको विशेष सन्दर्भ पारेर नयाँ चलचित्र ‘टिका’ निर्माणको औपचारिक घोषणा गरिएको छ। भविष्य खड्का फिल्मस् प्रालीको प्रस्तुति र थर्ड आइ आट्र्स प्रालीसँगको सहकार्यमा निर्माण हुन लागेको यस चलचित्रले नेपाली समाजमा महिलाको स्थान र उनीहरूको जीवनगाथालाई पर्दामा उतार्ने लक्ष्य राखेको छ।
विशेष गरी महिलाले भोग्नुपर्ने संघर्ष, उनीहरूको आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको मुद्दालाई यो चलचित्रले मुख्य विषयवस्तु बनाएको छ। शंकर कार्कीको निर्देशनमा तयार हुने यस चलचित्रले समाजमा महिलाको पराक्रम र नैतिक स्वच्छताको कथालाई गम्भीर रूपमा प्रस्तुत गर्ने बताइएको छ।
भविष्य खड्का निर्माता रहेको यस चलचित्रमा अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा र वर्षा शिवाकोटी मुख्य भूमिकामा देखिनेछन्। उनीहरूको साथमा हाँस्य कलाकार निर्मल शर्मा र बाल कलाकार आयुशी ढकालको पनि अभिनय रहनेछ। कार्यकारी निर्माता तेजविक्रम केसीका अनुसार अन्य कलाकार र प्राविधिकहरू छनोट गर्ने कार्य अहिले तीव्र गतिमा भइरहेको छ।
चन्दन झा र निर्देशक कार्कीकै मूल कथामा आधारित यस चलचित्रको पटकथा रामकुमार श्रेष्ठले तयार पारेका हुन्। सामाजिक कथावस्तुमा आधारित भएर निर्माण हुन लागेको यो चलचित्र छिट्टै छायाङ्कनमा जाने तयारीमा रहेको निर्माण पक्षले जानकारी दिएको छ।









Discussion about this post