विशेष अनलाइन । भोलि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका दिन देशभरका चलचित्र घरहरू बन्द रहने भएका छन्। निर्वाचन प्रक्रियालाई सहयोग पुर्याउन र चलचित्र घरमा कार्यरत कर्मचारीहरूलाई मतदानको अवसर प्रदान गर्नका लागि सो दिन प्रदर्शन बन्द गर्ने तयारी गरिएको हो। नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थका अनुसार यसबारे आधिकारिक निर्णय गर्न संघको बैठक बुधबार बस्दैछ।
संघको औपचारिक निर्णय आउनुअगावै केही प्रदर्शनकहरूले सामाजिक सञ्जालमार्फत चलचित्र प्रदर्शन स्थगित हुने जानकारी दिइसकेका छन्। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले एक सूचना जारी गर्दै निर्वाचनको दिनका साथै फागुन २० र २२ गते पनि केही स्थानका चलचित्र घरहरूको सेवा प्रभावित हुन सक्ने जनाएको छ। उसले आफ्ना कर्मचारीहरूलाई मतदानमा सहभागी हुन प्रोत्साहन गर्ने उद्देश्यले यो कदम चालेको उल्लेख गरेको छ।
निर्वाचनको सरगर्मी बढेसँगै पछिल्ला केही दिनयता चलचित्र घरहरूमा दर्शकको चाप निकै घटेको देखिएको छ। हाल ‘आ बाट आमा’ बाहेक अन्य कुनै पनि चलचित्रले अपेक्षित व्यापार गर्न सकेका छैनन्। यद्यपि, चलचित्र घरहरूमा स्वदेशी र विदेशी चलचित्रहरूको उपस्थिति भने बाक्लो छ। अहिले नेपालीतर्फ ‘आ बाट आमा’ सहित ‘कुमारी’, ‘प्रवासी जीवन’ र ‘रमिताको पिरती’ प्रदर्शन भइरहेका छन् भने विदेशी चलचित्रतर्फ ‘ओ रोमियो’, ‘स्क्रिम ७’ र ‘क्राइम १०१’ पर्दामा छन्।
निर्वाचनको माहोल शान्त भएपछि फागुन २९ गते यस महिनाको अन्तिम चलचित्रको रूपमा ‘लालिमा’ प्रदर्शनमा आउने तयारीमा छ। त्यसैगरी, आगामी चैत महिनामा ‘हामी तीन भाइ’, ‘राम नाम सत्य’ र ‘३६ को आँकडा’ जस्ता प्रतिक्षित नेपाली चलचित्रहरूले प्रदर्शन मिति तोकेका छन्।
फागुनको अन्त्य र चैतको सुरुवाती समय ठूला विदेशी चलचित्रहरूको आगमनले पनि विशेष रहने देखिएको छ। चैत पहिलो साता अर्थात् मार्च १९ मा दक्षिण भारतीय बहुप्रतिक्षित चलचित्र ‘टक्सिक’ र बलिउडको ‘धुरन्धर २’ पनि प्रदर्शनमा आउने तयारीमा रहेकाले निर्वाचनपछिको समय चलचित्र बजारका लागि उत्साहप्रद हुने अपेक्षा गरिएको छ।









Discussion about this post