विशेष अनलाइन । निर्वाचनको सरगर्मीका कारण देशभरका चलचित्र हलहरू बन्द हुने भएका छन् । नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले एक सूचना जारी गर्दै आगामी फागुन २१ गते देशभर रहेका आफ्ना सम्पूर्ण चलचित्र मन्दिरहरू बन्द रहने जानकारी दिएको हो । निर्वाचन प्रक्रियालाई सहज बनाउन र नागरिकको मताधिकारलाई सम्मान गर्दै यो निर्णय लिइएको कम्पनीले जनाएको छ ।
कर्मचारीहरूलाई मतदान गर्न प्रोत्साहित गर्ने उद्देश्यले क्यूएफएक्सले फागुन २० र २२ गते पनि केही स्थानका हलहरूको सेवा प्रभावित हुन सक्ने स्पष्ट पारेको छ । निर्वाचनका कारण कर्मचारीहरू आफ्नो थातथलोमा भोट हाल्न जाने भएकाले ती दिनहरूमा केही सोहरू स्थगित वा प्रभावित हुन सक्ने देखिएको हो । त्यसैले, चलचित्र हेर्ने योजनामा रहेका दर्शकहरूलाई हलमा जानुअघि क्यूएफएक्सको आधिकारिक एप वा वेबसाइटमार्फत सोको अवस्थाबारे जानकारी लिन विशेष आग्रह गरिएको छ ।
निर्वाचन अवधिभर दर्शकहरूबाट साथ र समझदारीको अपेक्षा गर्दै क्यूएफएक्सले सबै नेपाली नागरिकलाई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न समेत अनुरोध गरेको छ । लोकतान्त्रिक अभ्यासलाई सफल पार्न व्यावसायिक क्षेत्रबाट पनि यस्तो किसिमको सहयोगको खाँचो रहेको मल्टिप्लेक्स व्यवस्थापनको ठम्याइ छ । निर्वाचन सकिए लगत्तै हलहरू पुनः नियमित रूपमा सञ्चालनमा आउनेछन् ।









Discussion about this post