विशेष अनलाइन। नेपाली मनोरञ्जन क्षेत्रमा ‘युएनए डिजिटल’ नामक नयाँ ओटिटी प्लेटफर्मको औपचारिक शुभारम्भ गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा यस प्लेटफर्मको उद्घाटन गरेका छन्। चलचित्र वितरक तथा निर्माता उज्वल गुरागाईं सीइओ रहेको यस कम्पनीले नेपाली चलचित्र र डिजिटल सामग्रीलाई विश्वव्यापी पहुँच पुर्याउने लक्ष्य राखेको छ।
यो प्लेटफर्म आगामी फेब्रुअरी १ (माघ १८) देखि दर्शकका लागि पूर्ण रूपमा उपलब्ध हुनेछ। प्रयोगकर्ताले यसलाई एप्पलको आईओएस, गुगल प्ले स्टोर, वेब ब्राउजर र स्मार्ट टिभीमा समेत डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्। सुरुवाती चरणमा करिब ६ करोड रुपैयाँको लगानीमा सञ्चालन हुन लागेको यस ओटिटीले नेपाल र विदेशका दर्शकका लागि छुट्टाछुट्टै ‘विन्डो’ मार्फत कन्टेन्ट उपलब्ध गराउने तयारी गरेको छ।
युएनए डिजिटलको सुरुवाती आकर्षणका रूपमा अभिनेता सलोन बस्नेतको चलचित्र ‘रूम नम्बर ८’ प्रदर्शन हुनेछ, जसलाई ओटिटीको पहिलो ओरिजिनल चलचित्र भनिएको छ। यसबाहेक आशिष ढकालको सिरिज ‘सम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’ तथा अन्य सोहरू जस्तै ‘रियल रिदम’, ‘चोइज’, ‘सिनेपट न्यूज’ र ‘चेलीबेटी’ पनि यसै प्लेटफर्मबाट प्रसारण हुनेछन्। कम्पनीले नेपाली मात्र नभई भारतीय, बंगलादेशी र जापानी सामग्रीलाई पनि क्रमशः समावेश गर्दै लैजाने योजना बनाएको छ।
उद्घाटन कार्यक्रममा सञ्चारमन्त्री जगदीश खरेलले बदलिँदो प्रविधिसँगै गुणस्तरीय कन्टेन्टमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । उनले विश्वभरका दर्शकले अहिले नयाँ र फरक सामग्री खोजिरहेको भन्दै युएनए डिजिटलले नेपाली कलालाई विश्वबजारमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यसको सुरुवातलाई एउटा नयाँ र सिर्जनात्मक उडानको संज्ञा दिँदै सफलताको शुभकामना दिए।
कलाकार तथा निर्माता दीपकराज गिरीले पनि ओटिटीको आगमनलाई नेपाली चलचित्र उद्योगका लागि सुखद पक्ष मानेका छन्। उनले विदेशमा हलको तुलनामा ओटिटीबाट निर्माताले बढी आम्दानी गर्ने गरेको उदाहरण दिँदै यस्ता प्लेटफर्मले नेपाली निर्माता र निर्देशकलाई ढुक्क भएर लगानी गर्ने वातावरण सिर्जना गर्ने बताए। युएनए डिजिटलले आफ्नो व्यावसायिक सेवा १४ फेब्रुअरीदेखि सुरु गर्नेछ भने यसको ग्राहक शुल्कका बारेमा चाँडै जानकारी दिने तयारी गरेको छ।









Discussion about this post