विशेष अनलाइन । नेपाली रजतपटमा नयाँ कथावस्तु बोकेको चलचित्र ‘शिवांश’ आगामी फागुन १ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले हालै चलचित्रको छोटो तर अर्थपूर्ण टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक गरिएको टिजरमा ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्ने संवादका साथ रहस्यमय माहोल सिर्जना गरिएको छ। टिजरमा मुख्य कलाकार प्रवीण खतिवडालाई एक सन्तको भूमिकामा देख्न सकिन्छ। उनी हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेको दृश्यले चलचित्रको विषयवस्तु आध्यात्मिक र गम्भीर हुन सक्ने संकेत दिएको छ, यद्यपि कथाका बारेमा धेरै कुरा अझै गोप्य राखिएको छ।
चलचित्र अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा तयार भएको हो भने यसलाई सन्तोष कुमार आत्रेयले निर्देशन गरेका हुन्। यो निर्देशक आत्रेयको डेब्यु चलचित्र (पहिलो निर्देशन) हो। चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन्, जसमा प्रवीण खतिवडाका साथै तेज गिरी र रुषा न्यौपानेको मुख्य अभिनय रहेको छ।
चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला र कुन्दन जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ। चलचित्रको संगीत पक्षलाई निकै बलियो बनाउन वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीले स्वर र संगीत दिएका छन्। अञ्जान केसी निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा शम्भु थापा रहेका छन्।
सह-निर्माताको रूपमा शोभा भण्डारी र अनिस केसी जोडिएको यो चलचित्रले नेपाली सिने जगतमा फरक स्वाद पस्कने अपेक्षा गरिएको छ। शिवरात्रिको माहौलमा सार्वजनिक हुन लागेकाले पनि यसको नाम र टिजरले दर्शकलाई हलसम्म तान्ने निर्माण टोलीको विश्वास छ।









Discussion about this post