विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रका प्रभावशाली अभिनेता प्रमोद अग्रहरी अब बङ्गाली चलचित्रको पर्दामा देखिने भएका छन्। आफ्नो सशक्त अभिनयका कारण नेपाली दर्शकमाझ सकारात्मक र नकारात्मक दुवै भूमिकामा ख्याति कमाएका उनी बङ्गाली चलचित्र ‘हांगोर’ मार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न लागेका हुन्। यस चलचित्रमा उनी मुख्य भूमिकामा प्रस्तुत हुँदैछन्, जसले उनको अभिनय यात्रामा नयाँ उचाइ थपेको छ।
निर्देशक ट्यानमोइ सोर्जोको निर्देशनमा तयार भएको यस चलचित्रलाई गाजी हिमोले निर्माण गरेका हुन्। हालै सार्वजनिक गरिएको चलचित्रको पोस्टरमा प्रमोदको नाम कलाकारहरूको सूचीमा अग्रपंक्तिमा राखिएको छ। यसले चलचित्रभित्र उनको भूमिका कति महत्त्वपूर्ण र वजनदार छ भन्ने कुरालाई प्रस्ट पारेको छ। लामो समयदेखि उनी बङ्गाली चलचित्रमा देखिने चर्चा चले तापनि उनले आधिकारिक रूपमा यसको पुष्टि भने भर्खरै मात्र गरेका हुन्।
‘हांगोर’ को अर्थ बङ्गाली भाषामा ‘सार्क’ हुन्छ र अभिनेता प्रमोदले आफू सार्ककै नाम र स्वभाव भएको पात्रको रूपमा देखिन लागेको जानकारी दिएका छन्। निर्माण पक्षले चलचित्रको प्रवर्द्धनका लागि छिट्टै एक विशेष भिडियो ‘फस्ट लुक्स’ का रूपमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यो चलचित्रले प्रमोदको अभिनय क्षमतालाई नेपाली सीमाभन्दा बाहिरका दर्शकमाझ पनि परिचित गराउने विश्वास गरिएको छ।
पछिल्लो समय नेपाली चलचित्रहरू ‘रावायण’, ‘अगस्त्य’ र ‘पीताम्बर’ मा डरलाग्दो र प्रभावशाली खलनायकको रूपमा देखिएका प्रमोदले आफ्नो छविलाई निरन्तर परिष्कृत गर्दै आएका छन्। यसअघि उनको बङ्गाली चलचित्र यात्राबारे विभिन्न अड्कलबाजी गरिए पनि उनी यस विषयमा मौन रहँदै आएका थिए। अन्ततः उनी एक शक्तिशाली भूमिकाका साथ बङ्गाली सिने जगतमा सुनौलो पाइला चाल्न तयार देखिएका छन्।
भर्सटायल अभिनयका धनी प्रमोदका लागि यो चलचित्र करियरकै एउटा कोशेढुङ्गा साबित हुन सक्छ। नेपाली चलचित्रमा कहिले नरम त कहिले उग्र स्वभावका पात्र निभाएर दर्शकको मन जितेका उनले बङ्गाली दर्शकलाई कसरी मन्त्रमुग्ध पार्ने हुन्, त्यो भने हेर्न बाँकी नै छ।









Discussion about this post