विशेष अनलाइन । चलचित्र ‘मन बिनाको धन’ बाट घरेलु बक्स अफिसमा सुखद् सफलता बटुलेका निर्देशक तथा संगीतकार टंक बुढाथोकी नयाँ परियोजनाको तयारीमा जुटेका छन्। शुक्रबार औपचारिक रूपमा नयाँ चलचित्रको शीर्षक सार्वजनिक गर्दै उनले आफ्नो निकै लोकप्रिय गीत ‘बा-आमा’ को नाममा चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन्। यो गीत टंक स्वयंको साथमा अशोक दर्जी, एआर बुढाथोकी र विक्रम थापाको स्वरका कारण चर्चामा थियो।
यस नयाँ चलचित्रको निर्देशनको बागडोर पनि टंक बुढाथोकीले नै सम्हाल्नेछन्। मुख्य भूमिकाका लागि उनले पुनः अशोक दर्जी र एआर बुढाथोकीलाई नै दोहोर्याउने भएका छन्। यसअघि ‘मन बिनाको धन’ मा यो जोडीको अभिनयलाई दर्शकले निकै रुचाएका थिए। चलचित्रका अन्य कलाकारहरू भने छनोटको प्रक्रियामा रहेको र चाँडै नै टुंगो लगाइने निर्देशक बुढाथोकीले जानकारी दिएका छन्।
टंक बुढाथोकीकै मौलिक कथामा आधारित हुने यस चलचित्रको पटकथा तथा संवाद लेखनको जिम्मेवारी अनुभवी लेखक शिवम् अधिकारीले पाएका छन्। हाल पटकथा लेखन कार्य अन्तिम चरणमा पुगेको छ। चलचित्रको कथावस्तु पूर्ण रूपमा ‘बा-आमा’ गीतको मर्म र भावनाबाट प्रेरित हुने बताइएको छ। स्क्रिप्टको काम सकिनेबित्तिकै बाँकी कलाकारहरूको अडिसन र छनोट सुरु गरिनेछ।
निर्माण पक्षका अनुसार, यो एक विशुद्ध पारिवारिक र सामाजिक कथावस्तुमा आधारित चलचित्र हुनेछ। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुति रहने यस चलचित्रमा विष्णुमाया मैनाली निर्माताका रूपमा रहेकी छिन्। पहिलो चलचित्र ‘मन बिनाको धन’ बाट राम्रो मुनाफा र सकारात्मक प्रतिक्रिया पाएपछि आफू दोस्रो सहकार्यका लागि थप उत्साहित भएको निर्माता मैनालीले बताएकी छिन्।
चलचित्रको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ भने आगामी वैशाख महिनादेखि छायांकन सुरु गर्ने योजना बनाइएको छ।










Discussion about this post