विशेष अन्लाइन । बहुप्रतिक्षित मल्टिस्टारर चलचित्र ‘कल्ली’ को टिजर शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले चलचित्रको मुख्य कथावस्तु र पात्रहरूको झलक दिँदै दर्शकमाझ कौतुहलता जगाएको छ। मानवीय मनभित्र लुकेका दुई विपरीत स्वभाव ‘देवता’ र ‘राक्षस’ बीचको द्वन्द्वलाई यो चलचित्रले मुख्य विषयवस्तु बनाएको छ।
टिजरका अनुसार मानिसभित्रको देवताले परिश्रम, मिहिनेत र इमानदारीको प्रतिनिधित्व गर्छ भने राक्षसले लोभ, मोह र लालचको भाव बोक्छ। जब मानिसले आफ्नो भित्रको मानवीयता (देवता) लाई मारेर दानवीय प्रवृत्ति (राक्षस) लाई स्थान दिन्छ, त्यसपछि उत्पन्न हुने भयावह परिस्थिति र सामाजिक परिणामलाई नै चलचित्र ‘कल्ली’ मा मार्मिक ढंगले प्रस्तुत गरिएको छ। यो दार्शनिक पक्षलाई पर्दामा उतार्न निर्देशक लक्ष्मण सुनारले निकै मेहनत गरेको देखिन्छ।
यसअघि ‘बुलाकी’ जस्तो सफल चलचित्र निर्देशन गरेका र ‘टुल्की’ को लेखनबाट चर्चा कमाएका लक्ष्मण सुनारले यसपटक सामाजिक कथाभन्दा अलि फरक मानवीय संवेदना र प्रवृत्तिको गहिराइलाई समातेका छन्। महेश दवाडीले तयार पारेको पटकथामा आधारित यो चलचित्रमा नेपाली पर्दाका दिग्गज कलाकारहरूको ठूलो टोली छ। सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत र उत्तम प्रधान जस्ता स्थापित कलाकारहरूको उपस्थिति रहनुले यो चलचित्रलाई थप विशेष बनाएको छ।
कलाकारहरूको लामो सूची रहेको यस चलचित्रमा सुलक्षण भारती, विनोद न्यौपाने, रेयर राई र प्रियना आचार्य लगायतका कलाकारको पनि सशक्त अभिनय छ भने बालकलाकारका रूपमा उपेश ढकाल र मञ्जिला बानियाँ देखिएका छन्। निसाल पौडेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन र एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत सुन्न सकिनेछ।
किरण नेपालीको निर्माणमा लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा तयार भएको यो चलचित्र आगामी फागुन १ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने तयारीमा छ।









Discussion about this post