विशेष अनलाइन। के हिंसाको बाटोबाट कहिल्यै स्थायी शान्ति प्राप्त हुन सक्छ? यही गम्भीर र दार्शनिक प्रश्नको उत्तर खोज्न निर्देशक मनोज पण्डितले नयाँ चलचित्र ‘ग्रेट’ को घोषणा गरेका छन्। भगवान बुद्ध र महात्मा गान्धीको अहिंसावादी दर्शनबाट प्रभावित भएर लेखिएको यस चलचित्रले मानिसको वास्तविक महानता र अस्तित्वको खोजी गर्नेछ।
‘इन्डी फिल्म’ निर्माणको शैलीमा तयार हुन लागेको यस चलचित्रमा निर्देशक मनोज पण्डित , विशाल पोखरेल, अग्रिम पण्डित, देवेन्द्र नेपाल, दीपक भट्टराई र रिश्ता अधिकारी लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।
युधिष्ठिर सरस्वती क्रियसनस्को ब्यानरमा निर्माण हुने यस चलचित्रको छायांकन आगामी माघ महिनादेखि सुरु हुने तालिका छ। निर्माण पक्षले छायांकनका लागि पर्वत जिल्लाको रमणीय पैयुँ क्षेत्रलाई रोजेको छ। विवेक लामाले क्यामेरा सम्हाल्ने यस चलचित्रले स्थानीय परिवेश र कथाको गहिराइलाई दृश्यमार्फत प्रस्तुत गर्नेछ।
नेपाली चलचित्र क्षेत्रमा फरक धारका र यथार्थपरक कथा पस्कन माहिर मानिने मनोज पण्डितको यो सातौँ निर्देशकीय यात्रा हो। यसअघि उनले ‘लक्ष्य’, ‘दासढुंगा’, ‘बधशाला’, ‘छायाँ’, ‘खाग’ र ‘एक’ जस्ता चर्चा कमाउन सफल चलचित्रहरूको निर्देशन गरिसकेका छन्। आफ्नै लेखन, निर्देशन र निर्माणमा बन्न लागेको चलचित्रलाई लिएर पण्डित निकै उत्साहित देखिन्छन्।
बुधबार चलचित्र विकास बोर्डले चलचित्र ‘ग्रेट’ लाई निर्माणको आधिकारिक इजाजत (अनुमति) प्रदान गरेको छ। व्यावसायिक मसला भन्दा पनि विचार र दर्शनलाई प्राथमिकता दिने पण्डितको यो नयाँ चलचित्रले नेपाली चलचित्र जगतमा बौद्धिक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ। हिंसा र शान्तिको द्वन्द्वमा आधारित यो कथाले आधुनिक समाजका लागि एउटा नयाँ सन्देश छोड्ने विश्वास निर्माण टोलीको छ।









Discussion about this post