विशेष अनलाइन । बहुप्रतिक्षित चलचित्र ‘बब डाइ’ को छायांकन सुरु भएको छ। चलचित्रको शुभ आरम्भ काठमाडौँको रमणीय स्थान चन्द्रागिरि बाट गरिएको हो। निर्माण टिमका अनुसार, चलचित्रको सम्पूर्ण छायांकन तालिका ४५ दिनको तोकिएको छ, जसको अधिकांश दृश्यहरू काठमाडौँ उपत्यकाको कीर्तिपुर र चन्द्रागिरि वरपर नै कैद गरिनेछन्।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको ब्यानरमा श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण भइरहेको चलचित्रलाई निर्देशक प्रविन श्रेष्ठले निर्देशन गरिरहेका छन् । चलचित्र ‘मोक्ष’ बाट निर्देशनमा डेब्यु गरेका श्रेष्ठले झन्डै १२ वर्षको अन्तरालपछि ‘बब डाइ’ मार्फत कमब्याक गरेका हुन्। निर्देशक श्रेष्ठले यो चलचित्र विशेषतः कीर्तिपुरकै परिवेश र कथावस्तुमा आधारित रहेको बताएका छन्। चलचित्रको शीर्षक ‘बब डाइ’ बारे प्रस्ट पार्दै उनले भनेका छन्, ‘खासमा यो ‘बब दाइ’ हो। नेवारी संस्कृतिमा ‘दाइ’ लाई ‘डाइ’ भन्ने चलन भएकाले चलचित्रको नाममा यसरी राखिएको हो।’
‘बब डाइ’ को केन्द्रीय भूमिकामा अभिनेता सौगात मल्ल देखिनेछन्। उनको साथमा सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पण्डितसहित एक दर्जनभन्दा बढी कलाकारहरूको अभिनय रहनेछ।
चलचित्रका निर्माताहरूमा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर रहेका छन् । चलचित्रको कार्यकारी निर्माता रविन्द्र प्रजापती हुन् । चलचित्रको छायांकन हालै सुरु भएकाले यसको प्रदर्शन मिति भने अहिलेसम्म तय गरिएको छैन। कीर्तिपुरको कथा र नेवारी ट्युनमा आधारित यो चलचित्रले दर्शकहरूलाई फरक स्वाद दिने विश्वास निर्माण टिमले लिएको छ ।









Discussion about this post