विशेष अनलाइन । अभिनेत्री रेखा थापा र पूजा शर्मा ‘उपहार’ पछि फेरि एउटै चलचित्रमा देखिने भएका छन्। लामो समयदेखि उनीहरू ‘काली २’ वा नयाँ एक्सन चलचित्रमा सहकार्य गर्ने चर्चा भएता पनि उनीहरू ‘छत्तिसको आँकडा’ नामको चलचित्रमा एकसाथ काम गर्ने भएका हुन्। चलचित्र को निर्देशन ‘कस्ले चोर्यो मेरो मन’का निर्देशक सविर श्रेष्ठले गर्नेछन्। आगामी शनिबार, श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभ–मुहूर्त गरेर चलचित्रको छायांकन सुरु गरिने निर्देशक श्रेष्ठले जानकरी दिए ।
पूजा शर्माका अनुसारचलचित्रको कथावस्तु दुश्मनझैँ रहेका दिदी–बहिनीको हास्य–रोमाञ्चक कथा हो। पशुपतिमा चलिरहेको महायज्ञमा सोमबार सहभागी हुँदै उनले भनिन्, “यसको कथा एकदमै रमाइलो छ, दिदी–बहिनीको बाजाबाज र लफडाले भरिपूर्ण। ‘उपहार’मा दर्शकले मलाई कमेडीमा मन पराएपछि अब यो चलचित्रमा पनि बेग्लै तरिकाले देखिनेछु।”
चलचित्रको प्रदर्शन आगामी चैत २८ गतेका लागि तय गरिएको छ। ‘काइट्स इन्टरटेन्मेन्ट’को ब्यानरमा बन्ने चलचित्रमा रेखा र पूजासँगै महेश त्रिपाठीको पनि अभिनय रहनेछ। यसपछि रेखाले महेशसँगै अर्को चलचित्र ‘क का कि की’ मा पनि सहकार्य गर्नेछिन्। बाबुराम निरौला र शिवम् अधिकारीको लेखन रहेको ‘छत्तिसको आँकडा’को छायांकन काठमाडौं आसपासमा हुने बताइएको छ।









Discussion about this post