विशेष अनलाइन। साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मोहर’ सेन्सर पास भएको छ। आइतबार सम्पन्न सेन्सर प्रक्रियामा चलचित्र सेन्सर बोर्डले फिल्मलाई PG (प्यारेन्टल गाइडेन्स) सर्टिफिकेट दिएको हो। सो सर्टिफिकेटअनुसार १६ वर्षमुनिका बालबालिकाले चलचित्र हेर्नका लागि अभिभावकको साथ अनिवार्य हुनेछ।
निर्माता चुम्बनजंग शाहीका अनुसार, सेन्सर बोर्डले चलचित्रको कुनै पनि दृश्य काट्न आवश्यक ठानेन। “चलचित्रको विषयवस्तु, प्रस्तुतिको शैली र सामाजिक सन्देशलाई लिएर सेन्सर बोर्डबाट प्रशंसा पाएका छौं,” शाहीले भने, “अब हामी सार्वजनिक प्रदर्शनका लागि उत्साहित छौं।”
चलचित्र फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा तयार पारिएको हो। ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, र रवीन्द्र झाको अभिनय रहेको छ ।
चलचित्रको प्रचार–प्रसार अभियान अन्तर्गत कलाकारहरू देशका विभिन्न स्थानहरूमा पुगिरहेका छन्। नायक पल शाह र गायक थानेश्वर गौतम राजधानी बाहिरका स्थानहरूमा पुगेर दर्शकहरूसँग प्रत्यक्ष साक्षात्कार गरिरहेको निर्माता शाहीले जानकारी दिए।
चलचित्र ‘मोहर’ले प्रेम, परिवार र सामाजिक सम्बन्धमा आधारित गहिरो सन्देश बोकेको बताइएको छ। सेन्सर बोर्डबाट प्राप्त सकारात्मक प्रतिक्रिया र प्रचारप्रसार अभियानसँगै निर्माण पक्ष चलचित्रप्रति आशावादी देखिएको छ।









Discussion about this post