विशेष अनलाइन । लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’को टिमले अब चलचित्र निर्माणमा हात हालेको छ। टिमले सोमबार ‘क का कि की’ नामक चलचित्र घोषणा गर्दै पोस्टर सार्वजनिक गरेको छ।
चलचित्रमा वरिष्ठ अभिनेत्री गौरी मल्ल, तृप्ती नाड्कर, रेखा थापा र महेश त्रिपाठी मुख्य भूमिकामा रहने छन्। यिनै कलाकारलाई पोस्टरमा देखाइएको छ।
‘कमेडी दरबार’का हास्य कलाकारहरू मिस पबी, पवन खतिवडा ‘म्याकुरी’, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना र सीडी विजय अधिकारी पनि चलचित्रमा अभिनय गर्दै छन्।
चलचित्र हास्य शैलीमा बन्ने संकेत देखिन्छ। चलचित्रलाई विक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा निर्देशन गर्नेछन्। कथा विक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका छन् भने पटकथा विक्की अग्रवालकै रहेको छ।
चलचित्रको छायांकन दशैंको टीकाको भोलिपल्टबाट सुरु गरिने निर्देशक अग्रवालले जनाएका छन्। छायांकन सुदीप बरालले गर्नेछन्। थिम पोस्टर रोयल भीमसेनले तयार गरेका हुन्।
चलचित्रको वितरण नेपालमा श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेभेन सिजले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन्। ‘कमेडी दरबार’ टिमको यो पहिलो फिल्मी प्रोजेक्ट हो, जसबाट हास्य शृंखलामा जमाएका कलाकारहरू अब ठूलो पर्दामा देखिन लागेका छन्।









Discussion about this post