विशेष अनलाइन । कलाकार रितेशजंग खत्रीको निर्माणमा लघु चलचित्र ‘द जर्नी अफ डेथ’ छायाङ्कन सम्पन्न भएको छ । इटहरीमा दशैंको शुभकामना आदानप्रदान गर्दै चलचित्रको छायाङ्कन सम्पन्न भएको जानकारी दिइयो । ‘द जर्नी अफ डेथ’को कथा पनि निर्माता तथा कलाकार रितेशजंग खत्रीले लेखेका हुन् ।
लघु चलचित्र ‘द जर्नी अफ डेथ’को निर्देशन चलचित्र पुरानो बुलेटका निर्देशक समेत रहेका भिषण राईले गरेका हुन् । निर्देशक राई पत्रकार महासंघ केन्द्रिय सदस्य समेत हुन् ।
नदीमाथि बाँस बगाएर तराई झार्ने र सोही व्यवसायबाट आफ्नो गुजारा गर्ने मध्यम वर्गीय परिवारका कथामा ‘द जर्नी अफ डेथ’ तयार भएको चलचित्रका निमार्ता तथा लेखक रितेशजंग खत्रीले बताए ।
पोस्ट प्रोडक्सन पस्चात पोस्टर सार्वजनिक गर्ने र सम्पादन सकेपछि पत्रकार भेटघाट गराई चलचित्र देखाइने र, त्यहाँबाट प्राप्त सल्लाह सुझाव अनुसार पुनः रिमेकिङ गरेर मात्र दर्शकलाई चलचित्र देखाइने निर्देशक भिषण राईले जानकारी दिए । चलचित्रमा रितेशजंग खत्री, दीपा पोख्रेल र बाल कलाकार कृष्टिना पौडेलको अभिनय रहेको छ ।
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाउने उद्देश्य सहित लघु चलचित्र ‘द जर्नी अफ डेथ’ निर्माण गरिएको निर्माता रितेशजंग खत्रीले जानकारी दिए । भोजपुर र उदयपुरको सीमावर्ती क्षेत्र मयुङ्टार,पार्कुवा लगायतका बिकट गाउँमा छायाङ्कन गरिएको ‘द जर्नी अफ डेथ’ करिब २५ मिनेटको रहेको छ ।
हेमन योन्जन तामाङले छायाङ्कन गरेको ‘द जर्नी अफ डेथ’को सम्पादन पनि हेमन योन्जन तामाङले गरिरहेका छन् ।
Discussion about this post