विशेष अनलाइन । नेपाल नाट्य प्रतिष्ठानले कोशी प्रदेशमा आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ गर्दै वरिष्ठ रङ्गकर्मी बिक्रम श्रीको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति गठन गरेको छ। इटहरीस्थित मेट्रिक्सको नाटक घर ‘धरणीधर सांस्कृतिक केन्द्र’मा सम्पन्न विशेष कार्यक्रममा उक्त समिति गठन गरिएको हो।
नेपाल नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका रङ्गकर्मी, साहित्यकार तथा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कोशी प्रदेशका ६ जिल्लाका प्रतिनिधि रङ्गकर्मीहरूको सहभागिताले कार्यक्रमलाई अझै अर्थपूर्ण बनाएको थियो।
नवगठित समितिको उपाध्यक्षमा कविता नेपाल, सचिवमा वीरेन्द्र थोक्लीहाङ्ग, सह–सचिवमा गोपाल तिम्सिना तथा कोषाध्यक्षमा जुनु बुढाथोकी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा विजय साम्योक सुब्बा, डा. देवी क्षेत्री दुलाल, भरत बर्वरीक, दीपेन्द्र सिंह, तुलसी घिमिरे र पानस गुरुङ चयन भएका छन्।
कार्यक्रममा अग्रज रङ्गकर्मी कमल राई र विष्णु डाँगी, साथै चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधान विशिष्ट अतिथिका रूपमा सहभागी थिए। भौगोलिक दूरीका कारण उपस्थित हुन नसकेका रङ्गकर्मीहरूसँग भने डिजिटल माध्यमबाट सल्लाह–सुझाव संकलन गरिएको आयोजकले जनाएको छ।
नेपाल नाट्य प्रतिष्ठानको १७ सदस्यीय प्रदेश संरचना अन्तर्गत हाल ११ सदस्य चयन गरिएको र बाँकी पदाधिकारीहरू आगामी दिनमा स्थलगत कार्यक्रममार्फत चयन गर्ने निर्णय गरिएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेलले भने,“नाटक केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो समाजको चेतना र विचार निर्माण गर्ने सशक्त कला हो। कोशी प्रदेशमा गठन भएको यो समिति नाट्य अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छु।”
त्यस्तै, नवगठित अध्यक्ष बिक्रम श्रीले आफ्नो धारणा राख्दै भने, “कोशी प्रदेशको नाट्य परम्परा समृद्ध छ। हामी सबैको साझा प्रयासबाट स्थानीय रङ्गमञ्चलाई संस्थागत, सिर्जनात्मक र अन्तरप्रदेशीय पहिचान दिलाउने दिशामा अघि बढ्नेछौँ।” कोशी प्रदेशमा नाट्यकला, साहित्य र सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यसहित गठन भएको यस समितिले आगामी दिनमा विविध सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने अपेक्षा गरिएको छ।











Discussion about this post