इटहरी / ‘दि भ्वाइस अफ नेपाल’का निर्णायक, गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भए पछि हाल उनको उपचार भइरहेको छ । कतिपयले उनको स्वस्थ्य स्थिति जटिल रहेको बताइरहेका छन् । तर हल्ला चलेको जस्तो उनको स्वास्थ्य स्थिति जटिल नभइ सुधारउन्मुख रहेको ‘दि भ्वाइस अफ नेपाल’का कार्यक्रम सञ्चालक सुशिल नेपालले पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस राख्दै गायक श्रेष्ठको स्वास्थ्यमा सुधार हुदै गएको बताएका छन् ।
नेपालले गायक श्रेष्ठलाई भर्खरै भेटेर आएको उल्लेख गर्दै भनेका छन् ‘भर्खरै भेटेर आईयो, आदरणीय महागुरू कोच दिपको स्वास्थ्यमा घेरै नै सुधार देख्दा मन निकै प्रफुल्लित भएको छ। आशा गरौँ चाडो भन्दा चाडो उहाँलाई कोचको कुर्सीमा देख्न पाउने छौँ। अस्पतालमा रात दिन नभनि खटिरहनु भएका डॉक्टरहरू, नर्सहरू लगायत अरू स्वास्थ्य कर्मी र विश्व भरी छरेर रहनु भएका उहाँको करोड़ौ प्रशंसक, श्रोताहरु, साथी(भाईहरूको प्रार्थनाले गर्दा पनि यो सम्भव भएको छ।’,
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । गायक श्रेष्ठको हाल काठमाण्डौ स्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
कोरोना संक्रमण बढेपछि ‘दि भ्वाइस अफ नेपाल’ को २ हप्ताको प्रसारण रोकिएको थियो । अगाडिका केही भागहरु पहिले नै छायांकन भइसकेको हुनाले आगामी साताबाट शो नियमित प्रसारण गर्ने बताइएको छ । यस अघि नै गायक प्रमोदलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी हाल संक्रमणमुक्त भइसकेका छन् ।
Discussion about this post