विशेष अनलाइन । फ्युचर रियल स्टेट प्रा. लि. ले चर्चित हास्य कलाकार तथा अभिनेता कुमार कट्टेल ‘जिग्री’ लाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। आइतबार कम्पनीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच फ्युचर रियल स्टेटका कम्पनी प्रमुख यम लामा र कलाकार कट्टेलबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो।
सम्झौताअनुसार कट्टेलले आगामी एक वर्षसम्म फ्युचर रियल स्टेटले सञ्चालन गर्ने परियोजना तथा गतिविधिहरूको प्रचार–प्रसार गर्नेछन्। विशेष गरी मोरङको सुन्दरहरैचा क्षेत्रमा निर्माणाधीन फ्युचर कोलोनी लाई लक्षित गर्दै यो सम्झौता गरिएको कम्पनीले जनाएको छ। कलाकार कट्टेलको लोकप्रियता र सामाजिक पहुँचले परियोजनालाई अझ व्यापक रूपमा चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कम्पनी प्रमुख यम लामाका अनुसार फ्युचर कोलोनीलाई केवल आवासीय परियोजनामा सीमित नराखी चलचित्र र कला क्षेत्रसँग जोडिएको विशेष गन्तव्यका रूपमा विकास गर्ने योजना छ। सोही अनुरूप फ्युचर कोलोनी परिसरभित्र चलचित्रकर्मी महासंघको भवन, चलचित्र छायांकन स्थल तथा आधुनिक चलचित्र हल निर्माण गर्ने तयारी भइरहेको उनले जानकारी दिए। “शहरी जीवनको चापबाट टाढा, शान्त, हरियाली र सुन्दर वातावरणमा बसोबास गर्न चाहने कलाकार तथा सर्वसाधारणका लागि फ्युचर कोलोनी उपयुक्त गन्तव्य बन्नेछ,” यम लामाले भने, “यसले कलाकार मात्र नभई चलचित्र उद्योगको समग्र विकासमा समेत योगदान पुर्याउने विश्वास लिएका छौँ।”
ब्राण्ड एम्बेसडर बनेपछि कलाकार कुमार कट्टेलले फ्युचर रियल स्टेटको दीर्घकालीन सोच र कला–संस्कृतिसँग जोडिएको अवधारणाले आफूलाई आकर्षित गरेको बताए। उनले फ्युचर कोलोनीलाई नयाँ पुस्ताका लागि नमूना परियोजनाका रूपमा चिनाउन आफू सक्रिय रहने प्रतिबद्धता जनाए।
ब्राण्ड एम्बेसडर नियुक्तिसँग सम्बन्धित पारिश्रमिक भने दुवै पक्षको सहमतिमा गोप्य राखिएको छ।









Discussion about this post