विशेष अनलाइन । यति बेला चलचित्र ‘अग्नीदहन’को निर्माण युनिट कलाकार सहित देश दौडाहामा छन् । मान्छे बोक्सी हुन्न कहिल्यै अभियान सहित चलचित्र प्रचार प्रसारका लागि चलचित्र युनिट देश दौडाहामा निस्किएको थियो । बुधवार इटहरीमा पत्रकार सम्मेलन गर्दै चलचित्रका विषयमा जानकारी दिइयो । चलचित्र विशुद्ध आम नागरिकलाई मान्छे कहिले पनि बोक्सी हुँदैन भन्ने सचेत गराउने उद्देश्यले निर्माण गरिएको चलचित्रका वरिष्ठ संरक्षक मोहनराज पौडेलले जानकारी दिए ।
चलचित्रमा अभिनय गर्ने कलाकारले समेत उदारता देखाएर बिना पारिश्रमिक अभिनय गरेको वरिष्ठ संरक्षक पौडेलको भनाई थियो । पछिल्लो समय नेपाली चलचित्रलाई दर्शकको साथ प्राप्त हुन थालेको उल्लेख गर्दै आफ्नो चलचित्रलाई पनि दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको चलचित्रका निर्देशक घनश्याम लामिछानेले बताए । पछिल्लो समय प्रदर्शनमा आएका सफल चलचित्रहरूको नाम नै लिँदै निर्देशक लामिछानेले सामाजिक कथावस्तुमा रहेर निर्माण गरिएको चलचित्र ‘अग्नीदहन’ पनि दर्शकको रोजाइमा पर्नेमा आफू विश्वस्त रहेको निर्देशक लामिछानेको भनाई थियो ।
समाजसेवा गर्न अत्यन्तै मन पर्ने बताउँदै चलचित्रका प्रमुख पात्रहरु मध्यका एक वरिष्ठ कलाकार प्रकाश घिमिरेले मान्छे बोक्सी हुन्न कहिल्यै अभियानको एउटा हिस्सा आफू पनि बन्न पाएकोमा खुसी व्यक्त गरे । ‘अग्नीदहन’सबै नेपालीले हेर्नै पर्ने सामाजिक चलचित्र रहेको कलाकार घिमिरेको भनाई थियो । चलचित्रमा रहेको आफ्नो भूमिकाका विषयमा बताउँदै कलाकार प्रमीला ताम्राकार तुलाचनले आफू चलचित्रमा एक पीडित महिलाको भूमिकामा प्रस्तुत भएको उल्लेख गरिन् । कस्ता मानिसलाई समाजले बोक्सीको आरोप लगाउँछ र वास्तविकता के हुन्छ भन्ने कुरालाई चलचित्रले उत्कृष्ट शैलीमा प्रस्तुत गरेको उल्लेख गरिन् ।
तराईका क्षेत्रमा यस्तो कुप्रथा धेरै हुने गरेको कुरालाई मध्यनजर गर्दै तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत चलचित्रको डबिङ गरिएको छ भने अङ्ग्रेजी भाषामा समेत सबटाइटल गरिएको छ । चलचित्र ‘अग्नीदहन’को कथा, पटकथा र संवाद लोकमणि पौडेलले लेखेका हुन् । चलचित्रमा वरिष्ठ कलाकार प्रकाश घिमिरे,प्रमीला तुलाचानका अलावा माओत्से गुरुङ, मोहनराज पौडेल,अनुपमा भण्डारी,तुलसी क्षेत्री,विष्णु बास्तोला लगायतको अभिनय रहेको छ ।
चलचित्र युनिट पोखराबाट, बुटवल, चितवन, हेटौडा हुँदै पूर्व आएको हो । सुनसरीको इटहरी पछि विराटनगर,दमक बिर्तामोडका पत्रकार भेटघाट गरी काठामाण्डौ लाग्ने कार्य तालिका रहेको चलचित्रका निर्देशक लामिछानेले जानकारी दिएका छन् ।
Discussion about this post