विशेष अनलाइन । लिम्बू समुदायको कथामा आधारित ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको बिराटचोक र केराबारीमा विशेष सो गरिने भएको छ । कार्तिक १० गते शनिवार बिहान ९ बजे र १०:३० बजे बिराट सिने हल, बिराटचोकमा र दिउसो २ बजे बन्धु पार्टी प्यालेस केराबारीमा चलचित्र प्रदर्शन गरिने चलचित्रका अभिनेता हेमन्तकृष्ण पाङ्दाक लिम्बुले विशेष अनलाइनलाई जानकारी दिए ।
बिराटचोकको विशेष सोको आयोजना बिन्द्रा छाहराङ पङ्धाक र गणेश पङ्धाकले गरेका हुन् भने केराबारीमा हुने विशेष सो को आयोजना मिलन सुबेदी बाटाघरे माइलाले गरेका हुन् । चलचित्र हाँङनान्दको यस अघि धरान, इटहरी, धनकुटा लगायतका विभिन्न क्षेत्रमा विशेष सो गरिसकिएको र सो बाट दर्शक उत्साहित भएको चलचित्रका लेखक समेत रहेका हेमन्तकृष्ण पाङ्दाक लिम्बुले जानकारी दिए ।
बिजय सान्योक सुब्बाले निर्देशन गरेको चलचित्रमा याकथुङ लिम्बू मुन्धुम अनुसार आफ्नै दाजु केसामी ‘बाघ’ लाई उनकै भाइ नाम्सामी ‘मान्छे’ ले मारेको र बाघको छालाबाट के ‘च्याब्रुङ’ बनाएर बजाएको कथालाई उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा दुई दाजुभाइबिच घमासान लडाइँ भइरहेका बेला आमा सेरङ्धङ्नाले केसामीका लागि आन्दाङ फुङ ‘बाबरी फूल’ र नाम्सामीका लागि सेक्मुरी फुङ ‘सिल्लेरी फूल’ जगाएको कथा प्रस्तुत गरिएको छ ।
छैटौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२३ मा सर्वोत्कृष्ट फिचर फिल्ममा मनोनीत हुन सफल भएको चलचित्र हाँङनान्दको नेपालमा काठमाडौँ,धरान, दमक हुँदै इटहरीमा समेत विशेष प्रदर्शन भइसकेको छ भने अन्ताराष्ट्रिय स्तरमा हङ्कङका विभिन्न सहरमा प्रदर्शन भइसकेको छ । केही समय पछि कोरिया, युके, सिक्किम लगायतका क्षेत्रमा पनि चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको चलचित्रका निर्देशक विजय संयोक सुब्बाले जानकारी दिए ।
धनकुमारी लिम्बुले निर्माण गरेको चलचित्र हाँङनान्दको कथा हेमन्तकृष्ण पाङ्दाक लिम्बुले लेखेका हुन् । चलचित्रमा हेमन्तकृष्ण पाङ्दाक लिम्बु, सिता तुम्बाहाम्फे,चन्द्रध्वज बेगा,नविन मेन्याङ्वो, उदय सुब्बा,बिनोद पोमो,नुमा लिम्बु,उदय लावति,दिलु सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका हुन् भने सम्पादन राजेन्द्र खड्का र चन्दन दत्तले गरेका हुन् ।
Discussion about this post