विशेष अनलाइन । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्र ‘परालको आगो’ ले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गर्न सफल भएको छ। चलचित्र विकास बोर्डले शनिबार रातिसम्मको आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै चलचित्रले हालसम्म ३ करोड १२ लाख १७ हजार ९२ रुपैयाँ ग्रस कलेक्सन गरेको जानकारी दिएको छ। प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाएको यस चलचित्रले बक्स अफिसमा आफ्नो बलियो पकड जमाएको देखिन्छ।
यस अवधिमा चलचित्र हेर्नका लागि हलसम्म पुग्ने दर्शकको सङ्ख्या पनि उल्लेखनीय रहेको छ। बोर्डको रिपोर्टअनुसार यो समाचार तयार पार्दासम्म चलचित्रका कुल १ लाख १० हजार ४४२ थान टिकट बिक्री भइसकेका छन्। नेपाली चलचित्र बजारको वर्तमान अवस्थालाई हेर्दा एक लाखभन्दा बढी दर्शकलाई हलसम्म आकर्षित गर्नुलाई चलचित्रको ठुलो सफलताको रूपमा हेरिएको छ।
यो चलचित्र नेपाली साहित्यका मुर्धन्य कथाकार गुरुप्रसाद मैनालीको कालजयी कथा ‘परालको आगो’ मा आधारित रहेर निर्माण गरिएको हो। ग्रामीण परिवेश, दम्पती बीचको झगडा र प्रेमको मनोविज्ञानलाई चित्रण गरिएको यो चलचित्रले पाठकको मानसपटलमा रहेको कथालाई पर्दामार्फत न्याय गरेको चर्चा भइरहेको छ। साहित्य र सिनेमाको यो फ्युजनलाई दर्शकले निकै रुचाएका छन्।
चलचित्रमा नेपाली कला क्षेत्रका हस्तीहरूको सशक्त अभिनय रहेको छ। गायक तथा अभिनेता प्रकाश सपुत, अभिनेत्री सुहाना थापा, भर्सटायल अभिनेता सौगात मल्ल र अभिनेत्री सिर्जना अधिकारीको मुख्य भूमिका रहेको यस चलचित्रले कलाकारहरूको अभिनयका कारण पनि प्रशंसा बटुलिरहेको छ। करिब २ करोड रुपैयाँको लगानीमा निर्माण भएको बताइएको यस चलचित्रले आफ्नो लगानी सुरक्षित गर्दै नाफाको बाटो तय गरिसकेको छ।
विशेष गरी मौलिक कथावस्तु र गाउँले परिवेशका चलचित्रप्रति दर्शकको बढ्दो मोहलाई यो चलचित्रको कलेक्सनले पुनः पुष्टि गरिदिएको छ। निर्माण पक्षले चलचित्रलाई माया गरिदिने सम्पूर्ण दर्शकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै गुणस्तरीय चलचित्र निर्माणमा हौसला मिलेको बताएको छ। अहिले पनि केही हलहरूमा चलचित्रको प्रदर्शन जारी रहेकाले यसको व्यापार अझै बढ्ने अनुमान गरिएको छ।










Discussion about this post