विशेष अनलाइन । वैशाख २५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘मालती मंगले’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच निर्माण टोलीले तीन मिनेटभन्दा लामो भिडियो सार्वजनिक गर्दै चलचित्रको मुख्य सार प्रस्तुत गरेको हो। हाँसो, रोदन र प्रेमको त्रिवेणी देखिने यस ट्रेलरले दर्शकमाझ चलचित्रप्रति थप कौतुहलता जगाएको छ।
गायक रामकृष्ण ढकालको पहिलो निर्माण रहेको चलचित्रले मुख्य पात्रहरू विजय बराल र वर्षा राउतको प्रेमदेखि वैवाहिक जीवनसम्मको उथलपुथलपूर्ण यात्रालाई चित्रण गरेको छ। विशेषगरी मालती र मंगलेको दाम्पत्य जीवनमा आउने अविश्वास र पारिवारिक कलहलाई ट्रेलरमा मार्मिक ढंगले उतारिएको छ। ट्रेलरको एक सशक्त संवादमा वर्षाले पितृसत्तात्मक सोच र शंकाको विरुद्ध आफ्नो पवित्रताको कसम खाएको दृश्यले महिलामाथि समाजले गर्ने हेयको व्यवहारलाई उजागर गर्दछ।
अन्तरजातीय विवाह र सामाजिक विभेदलाई चलचित्रको मूल कथावस्तु बनाइएको देखिन्छ। ट्रेलरका केही दृश्यहरूमा मालतीले भागी विवाह गरेपछि परिवारले उनको कपडा जलाएर सम्बन्धविच्छेद गरेको र मंगलेलाई ‘खानदान’ को नाममा अपमान गरिएको देखाइएको छ। प्रेमका लागि समाज र परिवारसँग लड्नुपर्ने बाध्यतासँगै दाजुभाइबीचको कलह र अविश्वासलाई पनि यस चलचित्रले सशक्त रूपमा प्रस्तुत गरेको छ।
प्रकु पाण्डेयको निर्देशन तथा कथामा तयार भएको यस चलचित्रमा विजय र वर्षासहित मेक्सम गौडेल, नरिन थापा, प्रकाश घिमिरे, मान्सु सापकोटा, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, राज पङ्गेनी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।
चलचित्रको कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् । चलचित्रमा महेश पौडेलको छायांकन तथा रोमी मोजेजको सम्पादन रहेको छ । रङ्ग संयोजन कृष्ण भण्डारी र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका हुन् ।









Discussion about this post