विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रकी प्रभावशाली अभिनेत्री प्रियंका कार्की यतिबेला आफ्नो ड्रिम प्रोजेक्ट ‘मास्टर्नी’ को कारण चर्चामा छिन्। अभिनेत्रीबाट निर्मात्रीको रूपमा पाइला चालेको उनको यो पहिलो फिचर चलचित्रको पोस्ट-प्रोडक्सन कार्य यतिबेला मुम्बईस्थित विश्वप्रसिद्ध ‘यशराज स्टुडियोज्’ मा भइरहेको छ।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो खुसी बाँड्दै प्रियंकाले यशराज स्टुडियोमा काम गर्नुलाई ‘सपना साकार भएको’ बताएकी छिन्। मुम्बई बसाईकै क्रममा प्रियंकाको भेट बलिउडका ‘एभरग्रिन’ अभिनेता अनिल कपूरसँग समेत भएको छ। अनिलसँगका केही तस्विरहरू सार्वजनिक गर्दै उनले आफूलाई ‘फ्यान गर्ल’ को रूपमा प्रस्तुत गरेकी छिन्।
भारतीय निर्देशक सुभेन्दू घोषको निर्देशनमा तयार भएको यस चलचित्रलाई प्राविधिक रूपमा निकै अब्बल बनाउने प्रयास गरिएको छ। रोचक पक्ष त के छ भने, ‘मास्टर्नी’ नेपाली मात्र नभई हिन्दी, बंगाली, पञ्जाबी, तमिल, तेलुगु, मलायलम र भोजपुरी गरी कुल ८ वटा भाषामा तयार हुँदैछ। यसले नेपाली चलचित्रलाई भारतीय बजारमा समेत बलियो पहुँच दिलाउने अपेक्षा गरिएको छ।
एक शिक्षिकाको संघर्षपूर्ण कथामा आधारित यस चलचित्रमा प्रियंका कार्कीका साथै सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी र अनुप विक्रम शाही जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको छ। प्रियंका स्वयंको कथा रहेको यस चलचित्रका निर्माताहरूमा आयुष्मान देशराज जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की रहेका छन्। चलचित्र भदौ १२ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तयारीमा छ।









Discussion about this post