विशेष अनलाइन । चिसो मौसममा तातो गफगाफको विषय बनेको छ— चलचित्र ‘परालको आगो’। गत शुक्रबारदेखि हलमा लागेको यो चलचित्रले सुरुवाती दुई दिनमै बक्स अफिसमा १ करोडको व्यापारिक ‘धमाका’ गर्दै व्यापारको राप देखाएको हो। श्रीमान्-श्रीमतीको सानो झगडा र ठूलो प्रेमको कथामा बनेको यो चलचित्र हेर्न दर्शकहरूको घुइँचो देशभरका हलहरूमा देखिन थालेको छ।
निर्माता पक्षका अनुसार चलचित्रले पहिलो दिन ४० लाखको ओपनिङ गरेको थियो भने शनिबार व्यापारमा उछाल आउँदै ६० लाखभन्दा माथिको ग्रस कलेक्सन भएको छ। शुक्रबार ३० प्रतिशत हाराहारी अकुपेन्सी रहेको चलचित्रलाई दर्शकको ‘वर्ड अफ माउथ’ले शनिबार ५० प्रतिशतभन्दा माथि पुर्याइदियो। काठमाडौं मात्र होइन, धनगढीदेखि बुटवल र नेपालगञ्जसम्मका हलहरूमा बिहानैदेखि ‘हाउसफुल’को संकेत देखिनु नेपाली चलचित्रका लागि सुखद खबर हो।
शनिबार बालाजुको अष्टनारायण हलमा त अर्कै दृश्य देखियो। चलचित्रका मुख्य पात्र प्रकाश सपूत र सुहाना थापा हलमा पुग्दा त्यहाँको ट्राफिक नै जाम हुने गरी दर्शकको भीड ओइरियो। करिब १ हजार दर्शकले एकसाथ चलचित्र हेरिरहेको हलमा पुगेका यो जोडीलाई देख्दा दर्शकको उत्साह हेर्न लायक थियो। प्रकाश र सुहानाको केमेस्ट्रीलाई दर्शकले पर्दामा मात्र होइन, वास्तविकतामा पनि उत्तिकै रुचाएको पाइयो।
दर्शकको यो प्रतिक्रियाले अभिनेत्री सुहाना थापा दंग छिन्। उनले निभाएको ‘गौंथली’ पात्रले दर्शकको मन यसरी छोएको छ कि एकजना आमाले उनलाई भेटेरै भावुक हुँदै भनिन्, ‘ए नानी, कसरी सहन सकेकी त्यत्रो पीडा?’ सुहानाका लागि यो एउटै वाक्य कुनै ठूलो अवार्डभन्दा कम थिएन। यता प्रकाश सपूत पनि आफ्नो चरित्रले पाएको तारिफबाट निकै उत्साही देखिएका छन्।
लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यस चलचित्रमा सौगात मल्ल, सिर्जना अधिकारी, शंकर आचार्य लगायतका कलाकारको अभिनयले कथालाई जीवन्त बनाएको छ। सुशील देवकोटाको संवाद र पटकथाले मध्यमवर्गीय नेपाली परिवारको झगडालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको छ। व्यापारिक हिसाबले चलचित्रले जुन रफ्तार समातेको छ, त्यसले आगामी दिनमा अझै राम्रो नतिजा दिने निश्चित देखिन्छ।









Discussion about this post