विशेष अनलाइन । नेपाली चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक भएको छ। विज्ञान कथा (साइन्स फिक्शन) विधामा आधारित यस चलचित्रको पोस्टरमा सम्पूर्ण कलाकारहरूलाई फिचर्ड गरिएको छ । सार्वजनिक पोस्टरले चलचित्रको विधा र भव्यता झल्काएको छ।
पोस्टरमा मुख्य रूपमा प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली र एवनराज उप्रेती लाई देख्न सकिन्छ। यीबाहेक चलचित्रमा सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका धेरै कलाकारहरूको अभिनय रहेको छ। यो बृहत् कलाकार समूहले चलचित्रलाई थप आकर्षण प्रदान गरेको छ।
प्रदीप शाही द्वारा निर्देशित चलचित्रको पोस्ट-प्रोडक्सन कार्य हाल बेलायतको राजधानी लन्डनमा तीव्र गतिमा भैरहेको छ। एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता कलाकार समेत रहेका विनोद सुवेदी ‘क्षितिज’ छन्। प्राविधिक पक्षमा छायाङ्कन बाबु श्रेष्ठ ले गरेका छन् भने द्वन्द्व निर्देशन राजु तामाङ ले सम्हालेका छन्। त्यसैगरी, सेट डिजाइन राजु पेन्टर ले, कला निर्देशन सन्तोष लामा ले र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले गरेका छन्।
नेपाली चलचित्र उद्योगमा नौलो विधा मानिएको साइन्स फिक्शनमा बनेको ‘एक्लो’ ले दर्शकहरूलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै यसको प्रदर्शन मितिको घोषणा पनि गरिएको छ। ‘एक्लो’ आगामी पुस १७ (१ जनवरी, २०२६) बाट विश्वभरका हलहरूमा प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।











Discussion about this post