विशेष अनलाइन । नेपाली चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक भएको छ। रोहित अधिकारी फिल्म्स प्रा।लि।को प्रस्तुति रहेको यस चलचित्रको गीत ओएसआर डिजिटलमार्फत बिहीबार सार्वजनिक गरिएको हो।गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द र दिवंगत जयदेवको संगीत समावेश छ। यस गीतको अघिल्लो संस्करणमा बलिउडकी चर्चित गायिका आशा भोस्लेले स्वर दिएको स्मरणीय पृष्ठभूमि रहेको छ।
चलचित्र असोज १३ गते (फूलपाती) रिलिज हुने तय गरिएको छ। सार्वजनिक भिडियोमा नायिका उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको नृत्य देख्न सकिन्छ। भिडियोमा मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। लोकेसन र दृश्य संयोजनले भिडियोलाई थप आकर्षक बनाएको दर्शकले महसुस गर्ने अपेक्षा गरिएको छ।
चलचित्रलाइ मिलन तामाङले निर्देशन गरेका हुन्। रबिन शेरचन र धिरज तामाङ लगानीकर्ता रहेका यस चलचित्रमा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन्। कथावस्तु चन्द्रकुमार दोङले लेखेका हुन् भने पटकथा र संवाद रामशरण पाठकको रहेको छ ।
चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको प्रस्तुतकर्ता रोहित अधिकारीले गीतसँगै भिडियो प्रतियोगिताको घोषणा गरेका छन्। ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाएर पठाउनेमध्ये उत्कृष्टलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइने बताइएको छ। चलचित्र ‘माइतीघर’ले पुरानो गीत र भावनालाई आधुनिक स्वादमा प्रस्तुत गर्दै नयाँ पुस्तासम्म पुर्याउने विश्वास टिमले व्यक्त गरेको छ।









Discussion about this post