विशेष अनलाइन । नेपाली चलचित्र ‘अभिमन्यु’ यही भदौ २७ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले सार्वजनिक गरेको भोजपुरी फ्लेवरको गीत ‘लड्की गोरी’ अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । रिलिज भएको ११ दिनमै युट्युबमा ११ लाखभन्दा बढी दर्शकले हेरेको यस गीतले नेपाली संगीत बजारमा फरक स्वाद प्रस्तुत गरेको प्रतिक्रिया पाइरहेको छ ।
नेपाली गीत–संगीत बजारमा प्रायः नेपाली लोक, पप र आधुनिक शैलीका गीतहरू हावी भइरहेका बेला ‘लड्की गोरी’ले भने भोजपुरी स्वाद पस्किएको छ । तर, खास कुरा के भने यसमा भोजपुरी लवज मात्र छ, भाषा भने नेपाली नै हो । यही कारणले पनि यो गीतलाई दर्शकहरूले ‘रिफ्रेसिङ’ र ‘फ्रेश फ्लेभर’ भएको प्रतिक्रिया दिएका छन् ।
गीत हेरेपछि युट्युबमा आएका प्रतिक्रियाहरू निकै सकारात्मक छन् । तृष्णा घतानी नामक दर्शकले कमेन्ट गर्दै लेखेकी छन्, “म खासै भोजपुरी गीत सुन्दिनँ । तर, यो अलि रिफ्रेसिङ रहेछ । मजा आयो । प्रेरणा सिंह र प्रशान्त सिवाकोटीको आवाज साह्रै मिठो लाग्यो । किरण श्रेष्ठको डान्स पनि मन पर्यो ।” त्यस्तै, अर्का दर्शक जीवन मल्लले लेखेका छन्, “यो डान्स र अडियो बबाल छ । निड मोर एप्रिसिएसन । छाडा छैन, रमाइलो छ ।”यी प्रतिक्रियाबाट प्रष्ट हुन्छ, दर्शकले भोजपुरी गीतहरू प्रायः ‘छाडा’ हुने धारणालाई यो गीतले तोडिदिएको छ । बरु यसले नेपाली चलचित्रका गीतलाई नयाँ स्वाद दिन सक्ने सम्भावना बढाएको छ ।
‘लड्की गोरी’मा लवज भोजपुरी जस्तै लागे पनि, गीतमा प्रयोग गरिएको भाषा नेपाली नै छ । तर, भिडियो भने टिपिकल भोजपुरी शैलीमै प्रस्तुत गरिएको छ । रंगीन, जोशिलो र डान्स–ओरिएन्टेड शैलीका कारणले पनि यसलाई दर्शकले नयाँपनको रूपमा ग्रहण गरेका छन् ।
चलचित्र तराईको पात्र र कथामा आधारित भएकाले, त्यही क्षेत्रसँग मेल खाने शैलीमा गीत बनाइएको निर्माण टिमले जनाएको छ । यसले तराईका दर्शकलाई चलचित्र प्रति अझै नजिक्याउने विश्वास पनि गरिएको छ । कतिपय समीक्षकले त यो गीतले गर्दा ‘तराईबासी दर्शक पनि फिल्ममा भावनात्मक रूपमा जोडिने सम्भावना छ’ भनेर टिप्पणी गरेका छन् ।
गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको रहेको छ । भिडियोमा जुना सुन्दास र किरण श्रेष्ठको आकर्षक नृत्य देख्न सकिन्छ भने, कोरियोग्राफी रोहन विश्वकर्माले गरेका छन् ।
सामान्यतया नेपाली चलचित्रका डान्स गीतहरूलाई ‘बाहिरबाट ल्याइएको ढाँचाको नक्कल’ भनेर आलोचना हुने गरेको छ । तर, ‘लड्की गोरी’लाई भने मौलिक तराई संस्कृति र भोजपुरी सौन्दर्यलाई नेपाली परिवेशमा घोलिएको गीतको रूपमा लिइएको छ ।
‘लड्की गोरी’ सार्वजनिक भएपछि चलचित्र ‘अभिमन्यु’प्रतिको उत्सुकता पनि बढेको छ । सुशान्त गौतमले निर्देशन गरेको यस चलचित्रमा किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, शिशिर वाङ्देल, सुष्मा निरौलालगायत कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको कथा मुकेश खनालले लेखेका हुन् भने, निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । चलचित्रको छायांकन शरह महतो, भिएफएक्स मनोज श्रेष्ठ र सम्पादन मदन घिमिरेले गरेका छन् ।
निर्माण पक्षका अनुसार, चलचित्रमा तराईका समाज, संस्कृति, प्रेम, संघर्ष र परिवेशलाई जीवित रूपमा देखाइएको छ । यिनै कारणले यो चलचित्रले तराईदेखि पहाडसम्मका दर्शकलाई लोभ्याउने विश्वास लिइएको छ ।












Discussion about this post