विशेष अनलाइन । चलचित्र ‘पीआर’ अस्ट्रेलियाको सिड्नीमा रेडकार्पेट प्रिमियर गरिएको छ । शनिबार हर्सभिलमा रहेको इभेन्ट र भी–म्याक्स हलमा आयोजित प्रिमियर दर्शक भरिभराउ थिए । आइतबार सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमामा चलचित्रको फेरि प्रिमियरको कार्यक्रम रहेको छ ।
प्रिमियरमा दर्शकले चलचित्र मनपराउदै राम्रो प्रतिक्रिया दिएको निर्देशक बस्नेतले बताए ।चलचित्रको प्रिमियरका लागि केही समयदेखि बस्नेत अस्ट्रेलियामा छन् । अस्ट्रेलियाकै कथावस्तुमा बनेको चलचित्र त्यही छायांकन समेत गरिएको हो । अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीले स्थायी आवासीय अनुमतिपत्र पाउन गरेको संघर्ष फिल्मले कथाको रूपमा उठाएको छ ।
शोभित बस्नेत निर्देशित चलचित्रको निर्माता रञ्जित शाह हुन् । शाह अस्ट्रेलिया जाने सोच भएका विद्यार्थीले फिल्म हेर्दा राम्रो हुने बताउँछन् । भन्छन्, ‘चलचित्रमा हामीले अस्ट्रेलियामा विद्यार्थीको रहनसहन र पीआरका लागि गर्ने संघर्ष चित्रण गरेका छौँ ।’
चलचित्रमा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी, आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, नवीन घायल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।









Discussion about this post