अस्बिन दाहाल । सुनसरी इटहरी-४ स्थित सेतो बङ्गला एकेडेमीले आफ्नो १९ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न गरेको छ। २०८२ फाल्गुण २९ गते शुक्रबार आयोजित उक्त समारोहमा विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक कुमार बिष्टको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण बिनोद लम्साल प्रमुख अतिथिको रूपमा उपस्थिति भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्ण बिनोद लम्सालले विद्यालयको शैक्षिक गुणस्तरको प्रशंसा गर्दै विद्यालयको प्रगतिको कामना गरे । उनले विद्यालयले विद्यार्थीको सर्वाङ्गिन विकासमा खेलेको भूमिका सराहनीय रहेको बताए ।
त्यस्तै, कार्यक्रमका विशेष अतिथि वरिष्ठ कलाकार, समाजसेवी तथा मारिया भिक्टोरिया विक्रम श्रीले सेतो बङ्गला एकेडेमी अन्य विद्यालयभन्दा भिन्न रहेको दाबी गरेका छन् । उहाँले भने: “यो क्षेत्रकै वास्तविक बालमैत्री वातावरण भएको विद्यालय सेतो बङ्गला मात्र हो। यहाँको शिक्षा पद्धति र बालबालिकाप्रतिको व्यवहार अनुकरणीय छ।”
विशेष अतिथि एडुटेक कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीका क्याम्पस प्रमुख चिरञ्जीवी तिमल्सिनाले पनि विद्यालयको शैक्षिक स्तर र व्यवस्थापनको खुलेर तारिफ गरे ।
कार्यक्रममा नयाँ घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेल, कचना मन्दिरका अध्यक्ष रोशन तामाङ, शिक्षाविद् गोमा ढकाल, समाजसेवीहरू मुक्ति फुएल र ताजिना बिष्टका साथै ज्येष्ठ नागरिक दिनमाया निरौलाको उपस्थिति रहेको थियो।
विद्यालयकी प्रधानाध्यापक कविता लम्सालले मन्तव्य राख्दै विद्यालयको वार्षिक प्रतिवेदन र आगामी योजनाबारे जानकारी दिनुभएको थियो। सो अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा पदक वितरण गरिएको थियो।











Discussion about this post